गर्भे वहादुर मिजार
धादिङ ।
नीलकण्ठ नगरपालिकाको अपाङ्गता समन्वय समितिद्वारा आयोजित ३३ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस “Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future” “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने मुलनाराका साथ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हो।
कार्यक्रममा नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले अबका दिनहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष प्राथमिकता दिएर सरकारी कार्यालयहरूले सेवा दिनु पर्ने साथै नगरपालिकाले उद्यमशीलता मार्फत कम व्याजदरमा अपाङ्गता भएका व्यक्तिहरूले व्यवसाय संचालन गर्न चाहेमा प्राथमिकता दिने बताउनु भयो ।
उक्त कार्यक्रमका अध्यक्षता उपप्रमुख दिपक विश्वकर्माले गर्नु भएको थियो । जिल्ला न्यायधिष श्रीमान गोपाल प्रसाद बास्तोलाको विशेष आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, अन्य कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, वडा अध्यक्ष र कार्यपालिका सदस्य, पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा, गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, बाैद्धिक अपाङ्गताका अभिभावक संघका अध्यक्ष गर्भेबहादुर मिझार, बहिरा संघ धादिङका अध्यक्ष रामप्रसाद अधिकारी, अपाङ्ग कल्याण संघका गजुरीका अध्यक्ष गुणराज खतिवडा र अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधि तथा अपाङ्गता भएका व्यक्ति र अभिभावकहरूको उपस्थिति रहेको थियो ।
नगरपालिका लगायत गाउपालिकाहरूले पनि शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा विशेष सेवा दिनु पर्ने बताउनु भयो । समितिले आजैका दिन देखि अपाङ्गता भएका व्यक्तिहरूलाई सेवामा पहिलो प्राथमिकता दिएको भन्ने स्टीकर बनाएर नगरपालिकाका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत कार्यालय, जिल्ला अस्पताल लगायत विभिन्न सरकारी कार्यालयहरूमा टास गरिएको हो । संघ, प्रदेश र स्थानीय सरकारले संविधान तथा अन्य ऐन कानुनमा उल्लेख भएका नीति नियमको कार्यान्वयन गरेमा कुनै पनि अपाङ्गता भएका व्यक्ति र तिनका परिवारले कष्टकर जीवन बिताउन पर्दैनथ्यो होला यस प्रती तिनै तहका सरकारका मातहतका कर्मचारीहरूले र जन प्रतिनिधिहरूले ध्यान दिन आबश्यक छ ।






