ईश्वर थापा मगर
धादिङ – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङले आफ्नो पाँचौं अधिवेशनका अवसरमा सामुदायिक सुरक्षासम्बन्धी महत्वपूर्ण धादिङ घोषणापत्र जारी गरेको छ। “सामुदायिक सुरक्षामा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमका क्रममा जारी यो घोषणापत्रले सामुदायिक शान्ति, स्थायित्व, र सामाजिक न्यायलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा सहभागी पत्रकारहरूले सामुदायिक सुरक्षाका लागि सत्य, निष्पक्षता र जनचेतनाको अभिवृद्धि गर्दै सुरक्षा निकाय र समुदायबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे। घोषणापत्रमा सामुदायिक सुरक्षाका विभिन्न पक्षलाई सम्बोधन गर्दै १० प्रमुख प्रतिबद्धता समावेश गरिएको छ।
मुख्य प्रतिबद्धताहरू
- सत्यमा आधारित सूचना प्रवाह: सामुदायिक सुरक्षा, शान्ति र सुव्यवस्थाका सवालमा तथ्यमा आधारित विषय उठान गर्ने।
- विविधतामा प्राथमिकता: सिमान्तकृत र अल्पसंख्यक समुदायका सुरक्षा र अधिकारका मुद्दालाई प्राथमिकता दिने।
- द्वन्द्व समाधानमा भूमिका: सकारात्मक सूचना, सन्देश र संवाद प्रवर्द्धन गर्दै सामुदायिक द्वन्द्व समाधान गर्ने।
- हिंसा रोकथाम: सुरक्षासम्बन्धी विश्वसनीय सूचनाको प्रवाह सुनिश्चित गर्ने।
- सहकार्यको प्रवर्द्धन: स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिक समाजसँग सहकार्य गर्ने।
- रणनीति विकास: सामुदायिक सुरक्षा रणनीतिहरूको विकास र कार्यान्वयनमा सहयोग गर्ने।
- क्षमता अभिवृद्धि: पत्रकारहरूलाई सामुदायिक सुरक्षा सम्बन्धी तालिम र कार्यशालाको आयोजना।
- अनुसन्धान र प्रकाशन: सामुदायिक सुरक्षासम्बन्धी अनुसन्धान, रिपोर्ट, डकुमेन्ट्री र लेख प्रकाशन गर्ने।
- तत्काल समाचार प्रवाह: संकटका समयमा तथ्यपूर्ण र शीघ्र समाचार प्रवाह सुनिश्चित गर्ने।
- दीर्घकालीन समाधान: सरोकारवालासँग संवाद गर्दै समस्याहरूको दीर्घकालीन समाधान खोज्ने।
सामुदायिक सुरक्षामा एकताबद्ध हुन आह्वान
घोषणापत्रमार्फत फोनिजले सबै पत्रकार, सञ्चार माध्यम र सरोकारवालाहरूलाई सामुदायिक सुरक्षाको विषयमा एकताबद्ध भएर काम गर्न आग्रह गरेको छ। सहभागीहरूले समाजलाई सुरक्षित, सहिष्णु र शान्त बनाउने दिशामा पत्रकारिताको भूमिका अझ सशक्त बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
सामुदायिक सुरक्षाका सवालहरूमा पत्रकारहरूको जिम्मेवारीलाई अझ प्रभावकारी बनाउँदै समाजका सबै वर्गको सहभागिता सुनिश्चित गर्न यो घोषणापत्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






