धादिङ । भैरवी वचत तथा ऋण सहकारी संस्था लि ले बार्षिक कार्य योजना बमोजिम गत फाल्गुन १४ देखि १६ गते सम्म संस्थाका शेयर सदस्यहरुलाई भ्रमण सम्पन्न भएकाे छ ।
धादिङवेसीबाट सुरू भएकाे भ्रमण तानसेन पाल्पा, रिडी र सुपादेउराली मन्दिर लगायतका स्थानहरूको अवलोकन भ्रमण आयोजना गरेको थियो। भ्रमणमा ८५ जन शेयर सदस्यहरूको सहभागीता रहेको थियो।
भ्रमणको पहिलो दिन पोखरा हुदै ऐतिहासिक एवम् साँस्कृतिक रूपमा धनि र ढाकाको टोपीको लागि प्रसिद्ध तान्सेन पाल्पामा सहभागीहरुलाई बास बसाइएको थियो । सोही दिन बजार क्षेत्रमा रहेको मन्दिर, दरबार र ढाकाको उद्योगको अबलोकन गरिएको थियो।
दोस्रो दिन भैरवस्थानको दर्शन गरी जनरल खड्ग शमशेरले आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा निर्माण गरेको रानी महलको अवलोकन भ्रमण गराईयो। यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैँचा र रानी पोखरीले महल आकर्षक देखाउछ।
रानी महलको अबलोकन पश्चात हिन्दुहरुका लागि पवित्र स्थल रुरु क्षेत्र जसलाई रिडीको नामले समेत चिन्ने गरिन्छ, उक्त स्थानमा केहि शेयर सदस्यहरूले आफ्ना पितृहरूको नाममा जलार्पण गरेको र यो क्षेत्र रिडी खोला र कालीगण्डकी नदीको किनारमा अवस्थित एक धार्मिक र सांस्कृतिक स्थानका साथै यसको बारेमा हिन्दू पुराण तथा शास्त्रहरूमा उल्लेख भएको कुरा भ्रमणका सहभागि तथा संस्थाको सञ्चालक समितिको अध्यक्ष गणेश कुमार श्रेष्ठले जानकारि गर्नु भयो।
यो धार्मिक क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा अवस्थित रहेको छ। भ्रमणका सहभागीहरुलाई लुम्बिनी प्रदेश सहकारी संघका सदस्य रुद्र श्रेष्ठ, अर्घाखाँची जिल्ला सहकारी संघका सचिव धर्म भुसाल र अर्घाखाची जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष द्रोण भुसालले स्वागत गर्दै अर्घाखाची जिल्लाका नमूना सहकारी र जिल्लाको सहकारी अभियानको अवस्थाबारे जानकारी गराएको कुरा साकोसका सचिव सीताराम कोइरालाले बताउनु भयो ।
भ्रमणको अन्तिम दिन अर्घाखांची जिल्लाकै प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीको दर्शनगरी सहभागीहरु फर्किएको र समग्रमा भ्रमण सौहार्दपूर्ण रहेको कुरा संस्थाका अध्यक्ष गणेश कुमार श्रेष्ठले जानकारी गराउनु भयो।





