धादिङ । विश्व उपभोक्ता अधिकार दिवस देशभर उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरl मनाइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा छलफल, अन्तरक्रिया कार्यक्रमको आयोजना गरी धादिङबेसीमा पनि उपभोक्ता दिवस मनाईएको छ ।
उपभोक्ता अधिकार दिवसको सन्दर्भमा यस वर्षको लागि “स्वच्छ र प्रतिस्पर्धि बजार–उपभोक्ता हित संरक्षणको दिगो आधार” भन्ने नारा तय गरिएको थियो । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम तथा छलफल, अन्तरक्रिया गरेर दिवस मनाएका छन् ।
उद्योग वाणिज्य कार्यालय धादिङको आयोजना भएको छलफल, अन्तरक्रियामा उपभोक्ताहरु, उपभोक्ता अधिकारकर्मीहरु, व्यावसायी र सरकारी निकायका प्रतिनिधि सहभागि रहेको उद्योग बाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले जानकारी दिनुभयो । उपभोक्ता हित संरक्षण मञ्च धादिङका अध्यक्ष बेदबहादुर खाँडले उपभोक्तालाई सचेत र जागरुक बनाउदै उपभोक्ताको अधिकारप्रति उद्योगि, व्यावसायीहरुलाई जिम्मेवार हुन आग्रह गर्नुभयो ।
सेवा दिने निकाय, उद्यमी, व्यवसायी लगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न पनि खाँडले अनुरोध गर्नुभएको छ ।त्यसैगरी अन्तरकृया कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका उपाध्यक्ष बलराम लम्सालले घरेलु तथा साना उद्यागिहरुलाई तीनै तहका सरकारले समेट्न नसकेकोमा गुनासो गर्नुभयो ।
सरकारहरुले स्वरोजगार प्रकृतिका उद्योग व्यवसायलाई सहयोग गरे मात्र समृद्धि संभव हुने लम्साललको भनाई थियो । सामान्य रुपमा गरिने प्रविधि हस्तान्तरणले मात्रै नपुग्ने भन्दै लम्सालले घरेलु तथा साना उद्योगिहरुलाई व्यापक सीप विकासको कार्यक्रम ल्याउनु पर्ने र उद्योग व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पर्ने बताउँदै यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो रहेको औंल्याउनु भयो । पछिल्लो समय धादिङको नियामक निकाय उद्योगि, व्यवसायीलाई कारवाही र जरिवाना गराउने भन्दा पनि सेवा प्रवाहलाई सहज बनाउन र उपभोक्ता मैत्री सेवा प्रवाह गराउनेमा केन्द्रित रहेको दाबी गर्नुभयो ।अन्तरकृयामा सहभागिहरुले उपभोक्ताको अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए ।
उपभोक्ता हकहित संरक्षणका लागि कानूनमा धेरै अधिकारको व्यवस्था भए पनि कार्यान्वयन पक्ष भने फितलो भएका कारण उपभोक्ताले यी अधिकारको प्रत्याभूति गर्न नपाएका सहभागिहरुको भनाई थियो । सरकारले समयसापेक्ष र जनअपेक्षाअनुरूप वैज्ञानिक र व्यवस्थित आपूर्ति प्रणालीको व्यवस्था मिलाउन नसक्नु, मागअनुसार आन्तरिक उत्पादन वृद्धि गर्न नसक्नु, आयातित वस्तुमा निर्भर हुनु, बजारमा भइरहेको कालोबजारी, सिन्डिकेट, खाद्यवस्तुमा मिसावट र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेका कारण उपभोक्ता अन्यायमा परेका उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ । चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो । सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् ।
उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचना, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार पर्दछन् ।






