ईश्वर थापा मगर
धादिङ
| स्थानीय उत्पादनदेखि प्रेरणादायी सन्देशसम्म, युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्न २५ वटा स्टलसहित रोजगार मेला |
नीलकण्ठ नगरपालिकाको आयोजनामा शनिबार सदरमुकाम धादिङबेशीमा दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला भव्य रूपमा सम्पन्न भएको छ।

‘युवासँग उप–प्रमुख कार्यक्रम’ अन्तर्गत युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा स्थानीय उत्पादन र हस्तकलाका सामग्रीको आकर्षक प्रदर्शनी गरियो।
सीप सिकेर स्वरोजगारमा लागेका युवाहरूले आफैं बनाएका ढाकाका पछ्यौरी, टोपी, बुटिक, सजावटी सामग्री, झोला, अचार, बासको टोकरी, सौन्दर्य सामग्री लगायतका हस्तकलाका वस्तुहरू प्रदर्शन तथा विक्रिका लागि राखेका थिए।

मेलाको उद्घाटन गर्दै नीलकण्ठ नगरपालिकाका नगरप्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नगरलाई उद्यमशीलताको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उप–प्रमुख दिपक विश्वकर्माले सीपलाई उत्पादन र श्रमसँग जोड्दै युवालाई रोजगारी सिर्जना गर्न मेला आयोजना गरिएको जानकारी दिनुभयो।
मेलाको अवसरमा सहभागी युवाहरूले “के सिक्न चाहनुहुन्छ?” भन्ने विषयमा विशेष फारम भरेका थिए, जसबाट तालिमप्रतिको रुचि तथा आवश्यकता संकलन गरी भविष्य नीति तथा तालिम योजना निर्माणमा उपयोग गरिने बताइएको छ।

कार्यक्रममा मोटिभेसनल स्पिकरहरूले युवालाई हिम्मत, आत्मविश्वास र अवसर उपयोगबारे प्रेरणादायी अभिव्यक्ति दिएका थिए। साथै, प्यानल छलफल सत्रमा युवा उद्यमशीलता, रोजगारीका सम्भावना, सीपको बजारीकरण, महिला नेतृत्व, तथा स्थानीय सरकारको भूमिका जस्ता विषयमा विशेषज्ञ, उद्यमी र नीति निर्माता बीच गहन छलफल गरिएको थियो।
करीब २५ वटा स्टलहरूमा सरकारी, निजी तथा गैरसरकारी संघसंस्था, तालिम प्रदायक, सहकारी, बैंक, बीमा कम्पनी, व्यवसाय परामर्शदाता र युवा समूहहरूले भाग लिएका थिए।






