तामाङ कला, संस्कृति, भेषभूषा र धार्मिक पर्यटन प्रवर्द्धनको प्रयास

धादिङ, साउन १६ – उत्तरी धादिङको तामाङ समुदायमा गहिरो रूपमा जरा गाडेको तामाङ भाषा, कला, संस्कृति, भेषभूषा, रहनसहन, रिमठिम, पेठिम झल्काउने दोहोरी गीत “म्हेन्दोमाया (फुलमाया)” को चौथो संस्करणको प्रतियोगिता कार्यक्रम हुन लागेको छ।

धार्मिक, प्राकृतिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने सिङ्ल्हा म्हाने धार्मिक स्थलमा साउन २३ र २४ गते (जनैपूर्णिमाको अवसरमा) हुने “झाँक्री मेला” को अवसरमा यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको आयोजना जम्बुलिङ फिल्म्स प्रा.लि. परिवारले गर्न लागेको हो।

कार्यक्रममा सहभागिता जनाउन चाहने समूहले रु ४,००० समूह दर्ता शुल्क तिर्नुपर्नेछ। प्रतियोगितामा प्रथम पुरस्कार रु २५,००० नगद तथा प्रमाणपत्र, दोस्रो पुरस्कार रु १५,००० नगद तथा प्रमाणपत्र र तेस्रो पुरस्कार रु १०,००० नगद तथा प्रमाणपत्र रहेको आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको पहिलो चरण नुवाकोटको किस्पाङ गाउँपालिका–६, खर्क रुप्चेत मा आयोजना हुनेछ। कार्यक्रमको उद्देश्य तामाङ समुदाय भित्र लुकेका मौलिक कला, लोकगायन तथा प्रतिभाको खोज, संरक्षण तथा विश्व सामु चिनाउने रहेको आयोजकले बताएको छ।

यसअघि यस्तो कार्यक्रम म्हेन्दोमाया कलाकार समूहको संस्थागत पहलमा हुँदै आएको थियो भने यसपटक जम्बुलिङ फिल्म्स ले अग्रसरता लिएको हो।

धादिङ, नुवाकोट र रसुवाको संगमस्थलमा अवस्थित सिङ्ल्हा म्हाने धार्मिक स्थल दर्शन गर्नाले मनोकामना पूरा हुने, रोगीलाई निको हुने, सन्तानप्राप्तिको आशा राख्नेहरूलाई फल प्राप्त हुने जनविश्वास रहँदै आएको छ। जनैपूर्णिमाको दिन यहाँ झाँक्री, लामागुरु तथा हजारौँ श्रद्धालुहरूको भीड लाग्ने परम्परा छ।

यति महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सरकारले कुनै सहयोग नगरेको आयोजकको गुनासो छ। न स्थानीय, न प्रदेश, न संघ सरकारबाट सहयोग पाइएको उल्लेख गर्दै आयोजकले निजी लगानीमै कार्यक्रम गर्दै आएको बताएका छन्। जनप्रतिनिधिहरूले आश्वासन मात्र दिने तर व्यवहारमा सहयोग नगरेको यथार्थमा पनि स्थानीय सांस्कृतिक तथा धार्मिक चिनारीको संरक्षण र प्रवर्द्धन गर्न आफूहरू अघि बढेको आयोजकको भनाइ छ।

मूल आयोजक समिति परिवारले सो कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला, शुभेच्छुक र तामाङ समुदायप्रति उपस्थिति जनाएर साथ दिन अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0