आज आंशिक सूर्य ग्रहण : नेपालमा प्रत्यक्ष देखिँदैन
काठमाडौं, असोज ४ ।
आज राति आंशिक सूर्य ग्रहण लाग्दैछ । यो वर्षको अन्तिम सूर्य ग्रहण हो । खगोलविद्हरूका अनुसार ग्रहण २१ सेप्टेम्बर दिउसाे १:५७ बजे सुरु भई २२ सेप्टेम्बर साँझ ६:५७ बजे सकिनेछ ।
यसपटकको ग्रहण नेपाल र भारतबाट प्रत्यक्ष देखिँदैन । ग्रहण दक्षिणी गोलार्धका केही देशहरू—अष्ट्रेलिया, न्यूजील्याण्ड, फिजी, अंटार्कटिका र प्रशान्त महासागरका विभिन्न क्षेत्रबाट मात्र अवलोकन गर्न सकिने खगोलविद्हरूले जनाएका छन् ।
खगोल विज्ञानमा यो ग्रहणलाई सामान्य आंशिक ग्रहण भनिए पनि धार्मिक दृष्टिले यसको महत्व छ । आजैको दिन पितृपक्षको अन्तिम दिन, सर्वपितृ अमावस्या परेको छ । परम्पराअनुसार ग्रहणको समयमा धार्मिक क्रियाकलाप नगर्ने र ग्रहण समाप्त भएपछि स्नान, दान तथा शुद्धिकरण गर्ने चलन छ । तर नेपालमा प्रत्यक्ष देखिने नभएकाले सूतक काल को प्रभाव यहाँ पर्ने छैन ।
विशेषज्ञहरूले ग्रहण अवलोकन गर्नेहरूले सुरक्षाका लागि विशेष चश्मा वा फिल्टर प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । नग्न आँखाले सूर्य हेर्नु हानिकारक हुने चेतावनी पनि दिइएको छ ।






