काठमाडौं । बुलेट मोटरसाइकल राइडर्सको समूह काठमाडौं इन्फिल्डर्स क्लब ले धादिङका सक्रिय पत्रकार अशोक श्रेष्ठलाई सम्मान गरेको छ ।
धादिङका विभिन्न पर्यटकीय स्थलहरूको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले कार्तिक दोस्रो साता आयोजना गरेको “प्रमोशनल टुर” का क्रममा समन्वय, सहकार्य र सहयोग पुर्याएको योगदानस्वरूप श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको हो ।
क्लबले आज काठमाडौंको सतुङ्गलस्थित ‘चिया हब’मा आयोजना गरेको कार्यक्रममा पत्रकार श्रेष्ठसहित टुर सफल पार्न सहयोग पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।
तिहारलगत्तै क्लबका सदस्यहरूले धादिङको प्रसिद्ध भैरवी मन्दिर तथा वरपरका पर्यटकीय स्थलहरूमा प्रवद्र्धनात्मक यात्रा गरेका थिए । सोही क्रममा क्लबले भैरवी माध्यमिक विद्यालयका ७० जना विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको थियो ।
कार्यक्रमपछि पत्रकार श्रेष्ठले धादिङको पर्यटन प्रवद्र्धनमा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै भने, “म मध्य धादिङको बासिन्दा हुँ, दक्षिणी ब्रोम्दिङदेखि उत्तरी रुबीभ्यालीसम्मका आकर्षक क्षेत्रहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन योगदान पुर्याउने लक्ष्य लिएको छु ।”
अनलाइन न्यूज पोर्टल ‘साँचोखबर एचडी’ का सञ्चालक समेत रहेका श्रेष्ठले पछिल्ला वर्षहरूमा धादिङका सामाजिक, राजनीतिक र पर्यटनसम्बन्धी गतिविधिहरूमा सक्रिय पत्रकारिता गर्दै आएका छन् । उक्त मिडिया श्रव्यदृश्य सामाग्रीमार्फत तत्कालीन घटना र समाचारहरूलाई हार्ड एण्ड फास्ट शैलीमा प्रस्तुत गर्दै लोकप्रिय बन्दै गएको छ ।
धादिङको पर्यटन प्रवद्र्धनमा स्थानीय पत्रकार, संघसंस्था र युवाहरूको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत श्रेष्ठले व्यक्त गरे ।






