धादिङ –विद्यमान कानुनमा आवश्यक संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्न उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्ने धारणा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले राखेका छन्।

बिहीबार धादिङबेसीमा धादिङ उद्योग वाणिज्य संघको ३२औँ वार्षिक साधारण सभा तथा ३४औँ स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक सुधारका विषयमा निजी क्षेत्र अग्रसर रहेको बताए।

उनका अनुसार महासङ्घले प्रस्ताव गरेको आर्थिक सुधार आयोगका सुझावका आधारमा मौद्रिक नीति तथा कानुन परिवर्तन गर्न सकिने र त्यसले देशमा दिगो लगानीको बाटो खुल्ने बताए।

नेपालमा “केही हुँदैन” भन्ने नकारात्मक धारणा हावी भइरहेको उल्लेख गर्दै ढकालले स्वदेशी लगानीकै आधारमा ठूला आयोजनाहरू निर्माण गर्न सकिने विश्वास दिलाए। यही उद्देश्यसहित निजी क्षेत्रका साझेदारहरूलाई एकथान पारेर Nepal Development Public Limited कम्पनीको सुरुवात गरिएको उनले बताए।

हालै २३ र २४ गते भएको जेनेरेशन–जी (जेन–जी) आन्दोलन राम्रो उद्देश्यका बाबजुद गलत बैठक तथा निर्देशनका कारण हिंसात्मक मोडमा गएको बताउँदै ढकालले व्यक्तिगत सम्पत्ति, उद्योग–व्यवसाय र सरकारी संरचनामा भएको आगजनी, तोडफोड तथा लुटपाटको महासङ्घले सुरुदेखि नै विरोध गर्दै आएको स्पष्ट पारे।

कार्यक्रममा अन्य वक्ताहरूले पनि आर्थिक स्थिरता, लगानी प्रवर्द्धन र निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

धादिङ उद्योग वाणिज्य संघको ३२औं वार्षिक साधारण सभा तथा ३४औं स्थापना दिवस धुमधामका साथ सम्पन्न  भएको छ । सँस्थाका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षता तथा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतित्थ्यतामा धादिङ उद्योग बाणिज्य संघको सभाहलमा आज साधारण सभा  सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0