काठमाडौँ– नेपाल मगर संघ बागमती प्रदेशको तेस्रो अधिवेशन आगामी पुस १९ गते भक्तपुरमा हुने भएको छ। शनिवार काठमाडौंमा सम्पन्न संघको छैटौँ पूर्ण बैठकले अधिवेशनको मिति तथा तयारीबारे महत्वपूर्ण निर्णय गर्दै पुस १९ गते भक्तपुरमा अधिवेशन गर्ने औपचारिक घोषणा गरेको हो।
बागमती प्रदेशका अध्यक्ष मिलन थापा मगरको अध्यक्षतामा बसेको बैठकले मंसिर महिनाभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ। त्यसअनुसार जिल्लास्तरीय अधिवेशनहरू सम्पन्न भएपछि पुसमा प्रदेश स्तरीय अधिवेशन आयोजना गरिने बैठकले जनाएको छ।
बैठकमा आगामी अधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा संघको गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। संघका पदाधिकारीहरूले तेस्रो अधिवेशनलाई भव्य र सफल बनाउन आवश्यक तयारी तीव्र गति साथ अघि बढाइने बताए।






