काठमाडौं । भारतीय सीमा नाकाबाट अवैध रूपमा आयात हुँदै आएका पोल्ट्रीजन्य वस्तुहरू—सेतो अण्डा, चल्ला, कुखुरा तथा तयारी मासु—नियन्त्रणका लागि आवश्यक सहयोग माग गर्दै पोल्ट्री क्षेत्रका तीन प्रमुख संघसंस्थाको संयुक्त टोलीले गृहमन्त्रीलाई भेटघाट गरेको छ।
आज २०८२ साल पौष २४ गते नेपाल लेयर्स कुखुरापालक संघ, नेपाल ह्याचरी उद्योग संघ र नेपाल दाना उद्योग संघको संयुक्त टोलीले माननीय गृहमन्त्री ओमप्रकाश अर्यालज्यूलाई गृह मन्त्रालयमा भेटी उक्त विषयमा ध्यानाकर्षण गराएको हो।
भेटघाटमा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष श्री बिनोद पोखरेलज्यू, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष श्री राजेन्द्र लामिछानेज्यू, नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष श्री रबिन पुरीज्यूसहित तीनै संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
संयुक्त टोलीले अवैध आयातका कारण स्वदेशी पोल्ट्री उद्योग गम्भीर संकटमा पर्दै गएको, किसान तथा उद्योगीहरू मारमा परेको र उपभोक्ताको स्वास्थ्यमा समेत जोखिम बढेको जानकारी गराउँदै सीमा नाकामा कडाइ, अनुगमन तथा प्रभावकारी नियन्त्रणका लागि गृह मन्त्रालयको सक्रिय सहयोग आवश्यक रहेको बताएको छ।
गृहमन्त्री अर्यालज्यूले पोल्ट्री क्षेत्र देशको अर्थतन्त्र र खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिएको भन्दै अवैध आयात नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
अवैध पोल्ट्रीजन्य वस्तु आयात नियन्त्रणका लागि गृहमन्त्रीसँग संयुक्त भेटघाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






