बेनीघाट रोराङ धादिङ, २०८२ पौष २५
| • विद्यालयस्तरमै मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने उद्देश्यले गरिएको कार्यक्रमले विद्यार्थीलाई मानसिक स्वास्थ्यको महत्व बुझाउन महत्वपूर्ण योगदान दिएको देखिन्छ। • लायन्स क्लब, स्थानीय सरकार र समुदायबीचको सहकार्यले शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा दीर्घकालीन प्रभाव पार्ने सकारात्मक आधार तयार भएको छ। • पुस्तकालय स्थापना र अक्षय कोषको व्यवस्थाले सीमान्तीकृत समुदायका विद्यार्थीको पठन–पाठनमा व्यवहारिक र दिगो सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। |
लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीको आयोजनामा धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१० खोरभन्ज्याङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बहुआयामिक सामाजिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमअन्तर्गत विद्यालयमा “लायन्स मनराम पुस्तकालय” स्थापना तथा उद्घाटन गरिएको छ। पुस्तकालय स्थापनाका लागि करिब ५० हजार रुपैयाँ बराबरका पुस्तकहरू सहयोग गरिनुका साथै एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरी पुस्तकालयको दिगो उपयोग सुनिश्चित गरिएको आयोजकले जनाएको छ।
यसै अवसरमा उक्त क्षेत्रलाई “Lions Mitery Village (लायन्स मितेरी भिलेज)” घोषणा गरिएको छ। साथै विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत करिब ६० जना विद्यार्थीहरूका लागि मानसिक स्वास्थ्य सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो।
कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे विशिष्ट अतिथि तथा चिफ एड्भाइजर लायन विष्णु प्रसाद भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
अन्य अतिथिहरूमा डिष्ट्रिक्ट चिफ लायन अनुज कुमार श्रेष्ठ, एरिया कोअर्डिनेटर लायन चक्र बहादुर नेउपाने , लायन कृष्ण शिशिर , लायन कबिता ईटनी लगाएतको विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको व्यवस्थापकीय सहजीकरण विद्यालयका प्रधानाध्यापक गणेश अर्यालले गर्नुभएको थियो। कार्यक्रममा शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीका अध्यक्ष लायन बिक्रम बि क ले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा बेनीघाट रोराङ गाउँपालिकामा सीमान्तीकृत समुदाय र विपन्न वर्गलाई लक्षित गरी थप सामाजिक सेवा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।







