काठमाडौं, पौष २६, २०८२ ।
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बोलाएको छ ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठक आकस्मिक रूपमा आह्वान गरिएको जनाइएको छ ।
भोलिदेखि नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश पौडेलले ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा विशेष महाधिवेशन डाक्ने घोषणा गरेपछि आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
विशेष महाधिवेशनको प्रस्तावले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, नेतृत्व तथा भावी राजनीतिक कार्यदिशालाई प्रभाव पार्न सक्ने भएकाले यस विषयमा बैठकमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ । आकस्मिक रूपमा बोलाइएको बैठकले यस प्रस्तावप्रति पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने सम्भावना समेत रहेको बताइएको छ ।
यस बैठकले पार्टीभित्र देखिएको आन्तरिक बहस र आगामी राजनीतिक रणनीतिलाई स्पष्ट दिशानिर्देश दिने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0