बाबुराम फ्यूबा , दार्खा

खनियाबास, धादिङ   २९ पौष २०८२

धादिङ जिल्लाको खनियाबास गाउँपालिका वडा नम्बर–४ मा रहेको समृद्ध खनियाबास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड को तेस्रो वार्षिक साधारण सभा  मिति २०८२/०९/२८ गते भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष योमाया तामाङको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सहकारी विज्ञ डा. नवराज सिम्खडा प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा डा. सिम्खडाले सहकारी सञ्चालनका अवसर र चुनौतीबारे धारणा राख्दै सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

साधारण सभामा खनियाबास गाउँपालिका अध्यक्ष रण बहादुर तामाङ, उपाध्यक्ष सेकेमान तामाङ, वडा प्रतिनिधिहरू तथा विषयगत शाखा प्रमुखहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले महिला सहकारीले स्थानीय आर्थिक सशक्तीकरणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै पालिकाको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी उपाध्यक्ष सेकेमान तामाङले सहकारीलाई उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनासँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा उपस्थित विषयगत शाखा प्रमुखहरूले पनि आ–आफ्नो क्षेत्रबाट सहकारीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आगामी कार्ययोजना तथा आय–व्यय विवरण विषयगत सदस्यहरूद्वारा प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गरी आवश्यक सुझावहरू संकलन गरिएको सहकारीले जनाएको छ।

कार्यक्रमको सञ्चालन मञ्जु तामाङले गर्नुभएको थियो। महिला उद्यमशीलता प्रवर्द्धन तथा स्थानीय समुदायको आर्थिक विकासमा सहकारीको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित तेस्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0