धादिङ , साधभन्ज्याङ
ज्वालामुखी गाउ पालिकाको १६औँ गाउँसभा गाउँपालिका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। गाउँसभामा उपाध्यक्ष धर्म बहादुर अर्याल, गाउँपालिकाभित्रका ७ वटै वडाका वडा अध्यक्षहरू, गाउँसभा सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँसभाले गाउँपालिकाको समग्र प्रशासनिक, आर्थिक तथा शैक्षिक सुधारलाई लक्षित गर्दै आर्थिक कार्यविधि तथा वित्तीय ऐन, शिक्षा ऐन संशोधन लगायतका विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ। ती प्रस्तावहरूले आगामी दिनमा गाउँपालिकाको सुशासन, सेवा प्रवाह र विकास कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रस्तुत एजेण्डामाथि गाउँसभा सदस्यहरूले छलफल गर्दै सुझाव राखेका थिए। छलफलपछि अधिकांश प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम साहले गाउँसभामा प्रस्तुत प्रस्तावहरू पारित भएको जानकारी त्रिकोण खबरलाई दिनु भयो , उहाँका अनुसार ३९ सदस्यीय गाउँसभामध्ये प्रायः सबै सदस्यहरूको उपस्थिति रहेको थियो, जसले गाउँसभाको गरिमालाई थप मजबुत बनाएको उहाँले बताउनुभयो।
गाउँसभाको समापनसँगै ज्वालामुखी गाउँपालिकाले स्थानीय तहको कानुनी तथा नीतिगत व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।







