धादिङ , माघ १ आज माघ महिनाको पहिलो दिन माघे सङ्क्रान्ति पर्व देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनका रूपमा मनाइने यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ।
माघे सङ्क्रान्ति नेपालका विभिन्न जातजातिले आ–आफ्नै परम्परा र संस्कृतिअनुसार मनाउने भए पनि यो पर्व विशेषगरी मगर समुदायका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ। मगर समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। यस अवसरमा विगतका दुःख–पीडालाई बिर्सँदै नयाँ आशा, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।
माघी पर्वका अवसरमा मगर समुदायमा परिवार, आफन्त र छरछिमेकबीच भेटघाट गर्दै घिउ, चाकु, तरुल, तिलको लड्डु, ढिक्री, खिचडी, सेलरोटी लगायतका परम्परागत परिकार खाने चलन रहेको छ। साथै, आपसी मेलमिलाप, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने पर्वका रूपमा माघीलाई लिइन्छ।पहिला–पहिला नेपाली ग्रामीण समाजमा माघे सङ्क्रान्तीलाई आर्थिक वर्षको सुरुवात जस्तै गरी लिइन्थ्यो। किसानहरूबीच गाई, गोरु, भैँसी किनबेच गर्ने र उधारो रकम “माघे भाकामा तिर्ने” चलन प्रचलित थियो। खेतीपाती, पशुपालन र घरव्यवहारको हिसाब–किताब यही समय मिलाउने परम्पराले माघे सङ्क्रान्तीलाई आर्थिक अनुशासनको प्रतीकसमेत बनाएको थियो।
यस अवसरमा विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम, परम्परागत नाचगान तथा मौलिक संस्कृतिको प्रदर्शन समेत गरिँदै आएको छ। माघी पर्व मगर समुदायको पहिचान, संस्कृति र नयाँ वर्षको उत्सवका रूपमा विशेष महत्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ।माघे सङ्क्रान्तीको अर्को मौलिक पहिचान भनेको गोरु जुधाउने खेल हो। पहाडी जिल्लाहरूमा गाउँ–गाउँमा यो खेल मनोरञ्जन र सामुदायिक मेलमिलापको माध्यमका रूपमा खेलिन्थ्यो। बीचको सशस्त्र द्वन्द्वकालमा सुरक्षा र परिस्थितिका कारण यो परम्परा कमजोर बनेको थियो।
तर हालका वर्षहरूमा पुनः यो संस्कृति जीवन्त बन्दै गएको छ। विशेषगरी धादिङ जिल्लाका दार्खा, धुवाकोट, खाल्टे, मैदी तथा नुवाकोट जिल्लाको तारुका लगायतका स्थानमा माघे सङ्क्रान्तीको अवसरमा महोत्सवकै रूपमा गोरु जुधाउने खेल आयोजना हुने गरेको छ। यी महोत्सवमा विजयी गोरुलाई पुरस्कारसमेत प्रदान गर्ने चलन बढ्दै गएको छ, जसले स्थानीय उत्साह र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ।






