धादिङ, असार ५ ,२०८३
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण र ब्रान्डिङलाई मुख्य प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट हिजो असार ४ गते सार्वजनिक गरेको छ। बिहीबार आयोजित गाउँपालिकाको १९औं गाउँसभामा अध्यक्ष मेघनाथ रिजालले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो भने उप-प्रमुख सिता माया गुरुङले आगामी वर्षका लागि कुल ४० करोड ५० लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको थियो ।
अध्यक्षको नीति तथा कार्यक्रम: उत्पादनको ब्रान्डिङ र पूर्वाधारमा जोड
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले शैक्षिक सुधार, स्वास्थ्य उपकरण खरिद तथा व्यवस्थापन, र स्थानीय उत्पादनलाई बजारीकरण एवं ब्रान्डिङ गर्न पालिकाले विशेष जोड दिएको बताए ।
अध्यक्ष रिजालका अनुसार यस पटकको नीति तथा कार्यक्रममा स्थानीय मदिरा तथा गुन्द्रुकलाई ब्रान्डिङ गर्ने र होमस्टे (घरबास) सञ्चालन गर्ने योजना अघि सारिएको छ। यस्तै, नागरिकको आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै ‘एक घर एक धारा’ र कृषिको आधुनिकीकरणका लागि ‘एक पक्की टनेल’ जस्ता लोकप्रिय कार्यक्रमहरूलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको छ।
चालू र पुँजीगत तर्फको बजेट विवरण
गाउँपालिकाका उप-प्रमुख सिता गुरुङले प्रस्तुत गर्नुभएको बजेट विवरण अनुसार कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ९ करोड २९ लाख रुपैयाँ र चालू खर्चतर्फ ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले विशेषगरी शिक्षा, स्वास्थ्य र स्थानीय उत्पादनलाई नै केन्द्रमा राखेर बजेट विनियोजन गरेको उप-प्रमुख गुरुङले बताएको थियो ।
प्रमुख क्षेत्रगत बजेट विनियोजन:
- शिक्षा क्षेत्र: ३ करोड १० लाख रुपैयाँ
- स्वास्थ्य क्षेत्र: १ करोड ५० लाख रुपैयाँ
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक: ८८ लाख ९५ हजार रुपैयाँ
- आर्थिक विकासतर्फ: ५६ लाख ४७ हजार रुपैयाँ
- कार्यक्रम गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशी ले गर्नु भएको थियो । साथै
गाउँसभाको विशेष अवसरमा पालिकामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्न सफल वडा नम्बर १ का वडा अध्यक्ष एवं सचिव राकेश भुललाई सम्मान गरिएको छ। पालिकाको आन्तरिक आय वृद्धिमा उत्कृष्ट योगदान पुर्याएको भन्दै उहाँहरूलाई प्रशंसापत्र सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।






