धादिङ, पुस २२ – धादिङ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गर्दै बरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा चर्किएको छ। यसै क्रममा, संघका सदस्य सुर्दशन रिजालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
रिजालले लामो समयदेखि संघको गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले उद्योग व्यवसायको हितका लागि थप प्रभावकारी काम गर्न र संघलाई नयाँ उचाइमा पुर्याउन आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताए। रिजालले स्थानीय उद्यमीहरूका समस्याहरू समाधान गर्न र धादिङको आर्थिक विकासमा योगदान पुर्याउने योजना रहेको उल्लेख गरेका छन्।
यसअघि, सोही पदका लागि रोहित भण्डारीले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। भण्डारीले संघलाई अझ सशक्त बनाउँदै जिल्लामा उद्यमशीलताको विकास गर्न कटिबद्ध रहने प्रतिबद्धता जनाएका छन्।
धादिङ उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा यी दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रबल सम्भावना रहेको छ। दुवै उम्मेदवारले आफ्नो पक्षमा समर्थन जुटाउन व्यस्त रहेका छन्।
धादिङका उद्योगी-व्यवसायीहरूले आगामी नेतृत्वबाट ठोस र दीर्घकालीन परिवर्तनको आशा गरेका छन्। अब को नेतृत्वले संघलाई कसरी अघि बढाउनेछ भन्ने प्रतीक्षा सबैको चासोको विषय बनेको छ।
- के के छन् त रिजालको एजेन्डाहरु ?
१) धादिङ उद्योग वाणिज्य सङ्घभित्र भएको आर्थिक अनियमिततालाई पूर्णरूपमा नियन्त्रण र प्रशासनिक पारदर्शिता कायम गर्ने
२) धादिङ उद्योग वाणिज्य सङ्घको सुस्ताएको छविलाई सशक्त र व्यवसायी मैत्री बनाउने
३) दिन होस् वा रात धादिङ उद्योग वाणिज्य सङ्घ सबै व्यवसायीहरूको साथ भन्ने मूल मन्त्रलाई केन्द्रमा राखी यथार्थमा बदल्नका लागि काम गर्ने
४) धादिङ उद्योग वाणिज्य सङ्घ हालसम्म व्यक्तिमुखी संस्था हुन गएको हुँदा यसलाई व्यवसायमुखी बनाउनका लागि पहल गर्ने
५) साना तथा मझौला व्यवसायीहरूको हक हितका लागि व्यावसायिक जागरुकता तथा सल्लाह सुझाव ग्रहण गरी सो मुताबिक कार्य गर्ने
६) खस्कदो अर्थतन्त्रले गर्दा केही वर्ष यता घरभाडा लिई व्यवसाय गर्ने साथीहरूको साझा समस्याको रुपमा रहेको घरभाडाको विषयलाई समाधान गर्नका लागि समस्या समाधान सुझाव संकलन कार्यदल गठन गर्ने
७) धादिङ उद्योग वाणिज्य सङ्घलाई व्यापार लगानी र उद्यमशीलताको हिसाबले नेतृत्वदायी संस्थाको रुपमा स्थापित गर्ने
८) व्यवसाय मैत्री नीतिहरूको वकालत साझेदारी विकास र व्यावसायिक जोखिमहरुलाई कम गर्दै नीति क्षेत्रको विकासलाई सघाउने
९) व्यवसायीहरूको क्षमता विकास गरी प्रतिस्पर्धात्मक गुणस्तर हासिलमा सघाउने
१०) व्यवसायीहरु लगानीकर्ताहरू र अन्तर्राष्ट्रिय समझदारी बीच अन्तरक्रियात्मक वातावरणको सिर्जना गर्ने
११) उद्यमी व्यवसायीहरुलाई वित्तीय व्यवस्थापन र अनुपालकका लागि वित्तीय र कानुनी सेवाहरूको अवसर प्रदान गर्ने
१२) जिल्लाको उद्योग स्थापना हुने सम्भाव्य स्थलहरू औद्योगिक करिडोरका रूपमा विकास गर्ने
१३) प्रस्तावित राष्ट्रिय गौरवका आयोजनाहरूलाई गति दिन एवं विकासका अन्य कामका निजी क्षेत्रको भूमिका स्थापित गर्ने
१४) परियोजना अन्तर्गत हिसाबले स्रोतको समन्वय गरी उद्यम व्यवसायको प्रवर्धन गर्ने
१५) धादिङ उद्योग वाणिज्य सङ्घलाई निजी क्षेत्रको एक भरोसा योग्य सक्षम र गतिशील बनाउने






