धादिङ – नीलकण्ठ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन हाललाई स्थगित गरिएको छ। क्याम्पस सञ्चालक समितिले गठन गरेको निर्वाचन समितिका संयोजक डा. मुरारी अधिकारीले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया रोकिएको हो।
यसअघि, क्याम्पस सञ्चालक समितिबाट गठित निर्वाचन समिति मार्फत २०८१ साल चैत्र ५ गते स्ववियु निर्वाचनको तयारी भइरहेकै समयमा निर्वाचन संयोजक अधिकारीले माघ २८ गते राजीनामा दिएका थिए। निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा उत्पन्न असहज परिस्थितिका कारण उनले संयोजक पद त्यागेको उल्लेख छ।
उनको राजीनामापछि निर्वाचन समितिको बैठक, शिक्षक कर्मचारीको छलफल तथा सञ्चालक समितिको निर्देशन अनुसार हाललाई निर्वाचन प्रक्रिया स्थगित गरिएको क्याम्पस प्रशासनले जनाएको छ। सञ्चालक समितिले अर्को निर्वाचन समिति गठन नगरेसम्मका लागि नयाँ मिति तोकिने छैन।
क्याम्पस प्रमुख नवराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन स्थगित हुनुले विभिन्न पक्षलाई असुविधा पुगेको उल्लेख गर्दै प्रशासनले यस प्रति दुःख व्यक्त गरेको छ। साथै, आगामी दिनमा समायोजन गरेर प्रक्रिया अघि बढाइने जानकारी गराइएको छ।






