हेटौंडा, मकवानपुर । थाहा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरि लगायत ६ जना बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको छ । थाहा नगरपालिकामा अक्सिजन जेनेरेसन प्लान्ट खरिदको क्रममा प्राविधिक मापदण्डको अवहेलना र मिलेमतोका आधारमा गरिएको भनिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा अक्सिजन प्लान्ट खरिदका लागि थाहा नगरपालिकाले संघीय र प्रदेश सरकारबाट जम्मा रु. १,५५,००,००० बजेट प्राप्त गरेको थियो। खरिद कार्यका लागि गठित मूल्याङ्कन समितिले बायोमेडिकल इन्जिनियरद्वारा तयार गरिएको स्पेसिफिकेशनमा Desiccant Dryer प्रविधि स्पष्ट रूपमा उल्लेख गरिएको भए पनि प्रक्रियामा उल्टो गराइएको आरोप लगाइएको छ।

आरोप अनुसार, ८ वटा बोलपत्रदातामध्ये २ वटा फर्मले मागअनुसारको Desiccant Dryer प्रविधि प्रस्ताव गरे पनि समितिले Refrigerated Dryer प्रविधि प्रस्ताव गर्ने ६ वटा फर्मलाई पनि बराबरी रूपमा मूल्याङ्कनमा समावेश गरेर एउटा फरक प्रविधिको कम मूल्यको फर्मलाई छनोट गरेको हो।

सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि. नामक कम्पनीको रु. १,१०,०१,१९९.७५ को बोलपत्र स्वीकृत गरेर त्यसै अनुसार अक्सिजन प्लान्ट आपूर्ति गरिएको र रु. १२,००,००० अग्रिम रकम पनि दिइएको उल्लेख गरिएको छ।

अख्तियारको अनुसन्धान अनुसार, प्राविधिक स्पेसिफिकेशन, खरिद ऐन तथा नियमहरूको उल्लंघन, झुटा कागजातको प्रयोग, र मूल्याङ्कन प्रक्रियामा आपसी मिलेमतो गरिएको पाइएको हो।

मुद्दामा संलग्न भनिएका व्यक्ति: तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, इन्जिनियर सन्तोष बोहरा, सहायक सुदर्शन पहेली, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, व्यापारी सोबित प्रसाई सहित सुभारम्भ सर्भिस ट्रेडर्स प्रा.लि.रहेका छन् ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन अन्तर्गत उनीहरूमाथि कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। अब अदालतबाट न्यायिक निर्णयको अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0