धादिङ, भदौ २० ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बादरेमोडमा शनिबार बिहान ट्याङकर र यात्रुवाहक बस आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।
वीरगञ्जबाट पेट्रोल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना.४ ख.३१५३ नम्बरको ट्याङकर र ताल्ती हुँदै मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख.२८९४ नम्बरको यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बसमा करिब ६० जना सवारमध्ये घाइते हुनेहरूमा धादिङकै बेनिघाट रोराङ–२ निवासी २० वर्षीया सरीता चेपाङ, ४५ वर्षीय हरीबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ, १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नविन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फूलमाया चेपाङ, ४९ वर्षीय विष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया, ३६ वर्षीया सगीता चेपाङ र १० वर्षीय अजय चेपाङ रहेका छन् ।
घाइतेहरूलाई उपचारका लागि मलेखुस्थित मलेखु राजमार्ग अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यातायात अवरुद्ध हुन नदिन ट्याङकर र बसलाई प्रहरीको सहयोगमा सडक किनारमा राखी ट्राफिक सहज बनाइएको छ । दुर्घटनापछि दुवै चालकलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामध्ये बस चालक मकवानपुरको कैलाश–२ निवासी ३१ वर्षीय जिवन राना र ट्याङकर चालक धादिङको थाक्रे–५ निवासी ३५ वर्षीय बुद्ध थोकर रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






