धादिङ — ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मंगलवार धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशनका लागि संकलित घटनाको पूर्व–समीक्षा सम्पन्न गरिएको छ। सोही अवसरमा जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संजालसमेत गठन गरिएको छ।

कार्यक्रम नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, रोयम नेपाल, आइसिडिसि नेपाल, फोकस नेपाल, प्रयास नेपाल, सहयात्री समाज नेपाल, मानवअधिकार एलायन्स, ग्लोबल नेपालको संयुक्त आयोजनामा तथा नीलकण्ठ नगरपालिका लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मूल आयोजक समितिको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रम जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा इन्सेक प्रतिनिधि एवं नेपाल पत्रकार महासंघ धादिङका सीताराम अधिकारीले मानवअधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलन भएका ५२ ओटा घटनामा ५९ जना पीडित रहेको विवरण प्रस्तुत गर्नुभयो। प्रतिवेदनअनुसार कारागारमा मृत्यु ३, घाइते ७, हत्या ३, सञ्चारकर्मीमाथि धम्की २, बलात्कार ५, बलात्कार पीडितको मृत्यु १, बलात्कार प्रयास ३, घरेलु हिंसामा १६, बालिका बलात्कारमा १२ तथा बालयौन दुव्र्यवहार/दुरुपयोगमा ७ जना बालिका पीडित भएका छन्। साथै जातीय विभेदका घटनामा एक जना पीडित रहेको उल्लेख गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले मानवअधिकार नागरिकको आधारभूत अधिकार भएकाले त्यसको प्रत्याभूतिको लागि नागरिक सशक्तिकरण अपरिहार्य रहेको बताउनुभयो। बालबालिका, महिलाहरू, अपांगता भएका व्यक्तिहरू, जेष्ठ नागरिक तथा सबै समुदायको अधिकार सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो।

नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले लैंगिक हिंसा पीडित राहत कोष, अपांगता तथा जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सरकार मानवअधिकारमैत्री मार्गमा अगाडि बढिरहेको धारणा राख्नुभयो।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सरकारका संरचनाहरु मानवअधिकार संरक्षणका लागि उपयोग गर्न आग्रह गर्दै, उजुरी दिइएका घटनामा महिलाको निवेदनलाई पहिलो प्रमाणका रूपमा लिएर अनुसन्धान अघि बढाइने बताउनुभयो।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले महिला तथा यौनजन्य हिंसासम्बन्धी घटनामा शून्य सहनशीलता अपनाइने उल्लेख गर्दै मानवअधिकार वर्षपुस्तकका लागि संकलित घटनाहरू यथार्थ रूपमा प्रस्तुत गर्न आग्रह गर्नुभयो।

गैसस महासंघ धादिङकी अध्यक्ष तोलाकुमारी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकार रक्षक गायत्री खतिवडा, प्रेरणा बस्नेत, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, शरिशरण धिताललगायतले साझा प्रतिवद्धता, सामाजिक न्याय र मानवअधिकारका विविध आयाममा काम गर्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा १४ सदस्यीय युवा मानवअधिकार रक्षक संजाल गठन गरिएको छ। स्नेह श्रेष्ठको अध्यक्षतामा गठन गरिएको संजालमा उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा करिस्मा परियार रहेका छन्। सदस्यहरूमा आकाश लम्साल, सीता शाक्य, भुपेन्द्र लम्साल, रोशन थापा, कौशिला भट्टराई, रयिबा खातुन, रंजिता परियार, विपना पोखरेल, प्रतिमा अर्याल, प्रगति अर्याल र रस्मी श्रेष्ठ रहेका छन्।

नवगठित संजालले मानवअधिकारका मुद्दामा पैरवी गर्ने तथा मानवअधिकार रक्षकहरूको संरक्षणमा काम गर्ने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0