१८ पौष २०८२

धादिङ । अंग्रेजी नयाँ वर्ष २०२६ को पावन अवसरमा धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–४ स्थित आमाको माया छात्राबासलाई अत्याधुनिक PAUL (Portable Aqua Unit for Lifesaving) Waterbackpack पानी शुद्धिकरण फिल्टर वितरण गरिएको छ। नीलकण्ठ नगरपालिका–८ धादिङमा अवस्थित शितल छहारी नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रम सुरक्षित पिउने पानीको पहुँच विस्तार गर्ने उद्देश्यले गरिएको हो।

कार्यक्रम शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष बद्री अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै लायन्स क्लब अफ धादिङ भैरबीका उपाध्यक्ष प्रकाश सापकोटा, लायन्स क्लबका पूर्व उपाध्यक्ष बालकृष्ण नेपाली तथा शितल छहारी नेपालका सचिव अमित पौडेलको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन आमाको माया छात्राबासका सचिव राजेन्द्र राना मगरले गर्नुभएको थियो। उहाँले कार्यक्रम सञ्चालन गर्दै शितल छहारी नेपाल, जर्मनीस्थित सहयोगी संस्था CoIN e.V. (Cochlea Implantate e.V.) तथा लायन्स क्लब अफ धादिङ भैरबीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले लायन्स क्लब धादिङ भैरबीले छात्राबासमा यसअघि शौचालय निर्माणमा गरेको सहयोगले समेत छात्राबासको वातावरण थप सुरक्षित र व्यवस्थित बनेको उल्लेख गर्नुभयो।

वितरण गरिएको PAUL Waterbackpack फिल्टर आपतकालीन तथा दुर्गम क्षेत्रमा प्रयोग गर्न सकिने अत्यन्त प्रभावकारी पानी शुद्धिकरण प्रणाली हो। जर्मनीमा विकास गरिएको यस फिल्टरले ब्याकप्याक (झोलाजस्तो) प्रणालीमार्फत नदी, खोल्सा वा अन्य दूषित पानीलाई बिना बिजुली र रसायन शुद्ध पिउने योग्य बनाउने क्षमता राख्दछ। PAUL फिल्टरले ब्याक्टेरिया, भाइरस र परजीवीहरू हटाई प्रतिघण्टा ठूलो मात्रामा सुरक्षित पानी उत्पादन गर्न सक्ने भएकाले विद्यालय, छात्राबास तथा विपद् प्रभावित क्षेत्रमा विशेष उपयोगी मानिन्छ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष बद्री अधिकारीले शुद्ध पिउने पानी मानव स्वास्थ्यको आधार भएको उल्लेख गर्दै यस्तो प्रविधियुक्त फिल्टर छात्राबासका बालबालिकाका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो। उहाँले सामाजिक सेवामा लायन्स क्लब सधैं सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले संस्थाले शिक्षा, स्वास्थ्य र स्वच्छताका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जानकारी दिनुभयो। उहाँले धादिङ जिल्लाका झण्डै ११ वटा विद्यालय तथा संस्थाहरूमा यसअघि पनि यस्तै विशेष प्रकारका पानी शुद्धिकरण फिल्टर वितरण गरिसकिएको बताउँदै आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0