धादिङ, फागुन — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ खुल्ला समय सकिएर मौन अवधि सुरु हुनै लाग्दा धादिङ क्षेत्र नं. २ मा चुनावी समीकरणमा महत्वपूर्ण फेरबदल देखिएको छ।
आम जनता पार्टी (एकल चुनाव चिन्ह) का उम्मेदवार नन्दप्रसाद काप्रीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। उहाँले आगामी निर्वाचनमा रमेश धमला लाई समर्थन गर्ने घोषणा गर्नुभएको हो।
काप्रीले देश र क्षेत्रको समग्र विकासका लागि साझा धारणा, स्पष्ट योजना र सहकार्यको आवश्यकता रहेको उल्लेख गर्दै व्यापक राजनीतिक एकताको सन्देश दिन आफूले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो। उहाँका अनुसार धादिङ क्षेत्र नं. २ को विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासन प्रवर्द्धन जस्ता एजेन्डालाई प्राथमिकता दिँदै अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गरिएको छ।
उहाँको यो निर्णयसँगै धादिङ–२ को चुनावी प्रतिस्पर्धामा नयाँ समीकरण बन्ने संकेत देखिएको छ। स्थानीय राजनीतिक वृत्तमा काप्रीको समर्थनले कांग्रेस उम्मेदवार धमलालाई थप बल पुग्ने विश्लेषण गरिएको छ।
यसैबीच, नेपाली कांग्रेस धादिङले काप्रीलाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा साझा लक्ष्यका साथ अघि बढ्ने जनाएको छ।