काठमाडौँ, २२ चैत — हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा अन्य तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।
यसैगरी मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको जनाइएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै कोशी र गण्डकीका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा रातिको समयमा पनि हुरीबतास चल्न सक्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0