धादिङ, १९ पुस ।
निलकण्ठ नगरपालिका वडा नं. ०७ अन्तर्गत तारुखर्कस्थित बग्रटोलमा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी समुदायस्तरको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। श्री जलकन्या देवी सातमुले आमा समूहको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।
स्थानीय समाजसेवी तथा पत्रकार नवराज श्रेष्ठ चट्टानको पहलमा सम्पन्न उक्त कार्यक्रममा वैदेशिक रोजगारीमा जाने क्रममा अपनाउनुपर्ने सावधानी, कानुनी प्रक्रिया र ठगीबाट जोगिने उपायबारे जानकारी दिइएको थियो। वैदेशिक रोजगारका अवसरसँगै विद्यमान जोखिमबारे समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन्।
कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का स्वयंसेवक कमला कोइराला र राममाया श्रेष्ठले सहजीकरण गर्दै सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप सिकेर मात्र जाने, सही तथा आधिकारिक स्रोतबाट सूचना लिएर प्रक्रिया अघि बढाउने, श्रम स्वीकृति, करारपत्रलगायत कागजात सुरक्षित राख्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका पहलकर्ता नवराज श्रेष्ठ चट्टानले गाउँका महिला तथा युवाहरू वैदेशिक रोजगारीमा जाँदा सुरक्षित, सचेत र अधिकारबारे जानकार बनून् भन्ने उद्देश्यले कार्यक्रमको सहजीकरण गरिएको बताउनुभयो। कार्यक्रममा सहभागी आमा समूहका सदस्यहरूले यस्ता सचेतनामूलक कार्यक्रमले आफू तथा आफ्ना परिवारलाई वैदेशिक रोजगारका जोखिमबाट जोगिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।






