धादिङ । संयुक्त नागरिक पार्टी धादिङबाट चेरोङ तामाङ (शक्तिमान) प्रतिनिधि सभा सदस्य पदमा समानुपातिकतर्फ उम्मेदवार बनेका छन्। यही फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उनले गितार चुनाव चिन्ह लिएर निर्वाचन मैदानमा होमिएका हुन्।
लामो समयदेखि श्रमिक आन्दोलन, जनसंघर्ष र राजनीतिक गतिविधिमा सक्रिय तामाङले ने.क.पा. (माओवादी) बाट राजनीतिक यात्रा सुरु गरेका थिए। वि.सं. २०५८ सालमा थाङ्का मजदुर संघ काठमाडौं क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका उनी जनयुद्धकालमा वि.सं. २०५९ सालमा दुई महिना जेल जीवन बिताउन बाध्य भएका थिए।
वि.सं. २०६० सालदेखि नेकपा (माओवादी) को सदस्य रहँदै आएका तामाङ २०६८ सालमा माओवादी राज्य कमिटी सदस्य बनेका थिए। पछि वि.सं. २०७३ सालमा विप्लव नेतृत्वको नेकपामा आबद्ध भई रसुवा–नुवाकोट जिल्ला सचिवको जिम्मेवारीसमेत निर्वाह गरेका छन्।
वि.सं. २०७२ सालको विनाशकारी भूकम्पपछि धादिङ जिल्लाको रुबीभ्याली क्षेत्रमा भूकम्पपीडित नागरिकका लागि खाद्यान्न, लत्ताकपडा वितरण तथा मोबाइल क्लिनिक (First Aid) सेवा सञ्चालन गरी उनी सामाजिक सेवामा पनि सक्रिय देखिएका थिए।
समाजमा विद्यमान विसंगति र विकृतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएका चेरोङ तामाङ (शक्तिमान) ले समानुपातिक प्रतिनिधित्वमार्फत श्रमिक, उत्पीडित तथा सीमान्तकृत समुदायको आवाज संसदमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।






