गल्छि, धादिङ | २२ पाैष २०८२
नेपाल मगर संघ गल्छि गाउँपालिका तथा नेपाल मगर वापा संघ धादिङको आयोजनामा ७ दिने मगर वापा/मापा प्रशिक्षण कार्यक्रम आज गल्छि गाउँपालिकामा सुरु भएको छ।
गल्छि गाउँपालिका प्रमुख केदारनाथ खतिवडाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रम मगर समुदायको मौलिक संस्कृति, परम्परा तथा धार्मिक संस्कारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
वापा/मापा प्रशिक्षण कार्यक्रम पाैष २९ गतेसम्म सञ्चालन हुनेछ। सोही दिन मगर समुदायको प्रमुख चाड माघेसक्रान्ति पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमसहित समापन गरिने गल्छीबाट नेपाल मगर संघ धादिङका पुर्व सदस्य मीन राना मगरले जानकारी दिनुभयाे।
कार्यक्रममा मगर समुदायका मौलिक नृत्य, गायन तथा सांस्कृतिक कला प्रस्तुत गर्न सकिने व्यवस्था गरिएको आयाेजकले जनाएको छ। गल्छि गाउँपालिका भित्र बसोबास गर्ने सम्पूर्ण मगर समुदायलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ।
माघेसक्रान्ति विशेष तथा प्रशिक्षण कार्यक्रमको समापन समारोह यहि २९ गते गल्छि गाउँपालिका–८ स्थित छाङेश्वर मन्दिर परिसरमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ।
आयोजकले यस कार्यक्रमले मगर समुदायको सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।






