ईश्वर थापा मगर
धादिङ — नेपाल मगर संघ नीलकण्ठ नगर समितिको आयोजनामा नगरपालिकास्तरीय मगर पञ्चेवाजा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मगरहरूको राष्ट्रिय पर्व माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगितामा नीलकण्ठ नगरपालिकाभित्रका चार समूहको सहभागिता रहेको थियो।

प्रतियोगितामा नीलकण्ठ–५ पहरेछापस्थित राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम हुन सफल भएको छ। यसैगरी नीलकण्ठ–६ धादिङको बज्रयोगिनी पञ्चेवाजा समूह द्वितीय, नीलकण्ठ–६ कै सितलादेवी महिला विकास समिति तृतीय तथा नीलकण्ठ–१४ धादिङको रातमाटे मगर बाजा समूह सान्त्वना स्थानमा चयन भएका छन्।

प्रथम हुने समूहले ६ हजार ६ सय ६६ रुपैयाँ, द्वितीयले ५ हजार ५ सय ५५ रुपैयाँ, तृतीयले ४ हजार ४ सय ४४ रुपैयाँ तथा सान्त्वना समूहले २ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव एकु थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। त्यस्तै, केन्द्रीय सदस्य भगवान राना मगर, बागमती प्रदेश उपाध्यक्ष ईश्वर थापा मगर, नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठ तथा नेपाल मगर संघ धादिङका अध्यक्ष भिम दर्लामी मगर लगायतको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले मगर समुदायको मौलिक कला, संस्कृति र परम्परागत बाजागाजाको संरक्षण तथा प्रवर्द्धनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। प्रतियोगिताले स्थानीय स्तरमा रहेका सांस्कृतिक समूहलाई प्रोत्साहन मिलेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
1