धादिङ

नेपाली कम्युनिष्ट पार्टीले धादिङ संघीय निर्वाचन क्षेत्र नम्बर २ का लागि पार्टी केन्द्रीय सदस्य  रामबहादुर भण्डारीलाई उम्मेदवारको रूपमा टिकट प्रदान गरेको छ। जनयुद्धका जिउँदा सहिदका रूपमा परिचित भण्डारीको त्याग, बलिदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै पार्टीले उहाँलाई उम्मेदवार बनाएको जनाएको छ।

जनयुद्धको क्रममा भण्डारीका दुई छोरा बेपत्ता भएका छन् भने उहाँ स्वयंको शरीरमा दुई/तीन स्थानमा गोली लागेको थियो। यस्ता गम्भीर पीडा र घाउ बोकेर पनि उहाँ रूपान्तरण र परिवर्तनको आन्दोलनमा निरन्तर अगाडि बढिरहेको पार्टीको भनाइ छ। उहाँजस्ता त्यागी र संघर्षशील व्यक्तित्वहरूको योगदानकै कारण नेपालमा संविधान २०७२ घोषणा भई महिला, दलित, जनजाति, अल्पसंख्यक तथा उत्पीडित समुदायका अधिकारहरू सुनिश्चित भएको उल्लेख गरिएको छ।

प्राप्त अधिकारहरूको रक्षा, समृद्ध नेपाल निर्माण, तथा सहिद र बेपत्ताहरूको संकल्प पूरा गर्नका लागि क. रामबहादुर भण्डारीको नेतृत्व आवश्यक रहेको भन्दै सबै उत्पीडित समुदायलाई फाल्गुन २१ गते हुने निर्वाचनमा तारा चिन्हमा मतदान गरी उहाँलाई विजयी गराउन अपिल गरिएको छ।

पार्टीले  भण्डारीको अनुभव, त्याग र प्रतिबद्धताले धादिङ–२ का जनताको आवाज संघीय संसदमा सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0