धादिङ , ज्वालामुखी
धादिङको ज्वालामुखी गाउँपालिकाले गाउँपालिकाभित्रका तीन सामुदायिक माध्यमिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरेको छ।
गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय, साँधभञ्ज्याङले २०८३ कात्तिक १८ गते सूचना जारी गर्दै तीन विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिएको जानकारी दिएको हो।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ तथा सोही नियमावलीको अनुसूची–१३ मा उल्लेखित प्रधानाध्यापक छनोटका आधारमा मूल्याङ्कन गरी सम्बन्धित विद्यालयको शिक्षक छनोट समितिको सिफारिस र गाउँकार्यपालिकाको २०८३ असोज २५ गतेको निर्णयअनुसार नियुक्ति गरिएको सूचनामा उल्लेख छ।
नियुक्त हुनेहरूमा ज्वालामुखी गाउँपालिका–३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयमा हेमराज भट्ट, वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयमा कविता श्रेष्ठ र वडा नं. ५ स्थित त्रिपुरासुन्दरी माध्यमिक विद्यालयमा रमेश गुरुङ रहेका छन्।
यसअघि गाउँपालिकाले विभिन्न छ वटा माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। सोही प्रक्रियाअन्तर्गत हाल तीनवटा विद्यालयमा प्रधानाध्यापक नियुक्त गरिएको हो।
गाउँपालिकाका शिक्षा अधिकृत (सातौँ) विष्णुप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा नवनियुक्त प्रधानाध्यापकहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।