बिजय पौडेल ,धादिङ ,२०८३ कार्तिक २३
धादिङको महत्वपूर्ण सडक मार्ग साङ्कोष–तिप्लिङ (दामन पाख्रिन मार्ग) अन्तर्गत चरङ्गेदेखि लपाङफेदीसम्मको सडक खण्ड लामो समयदेखि साँघुरो, हिलाम्मे र झाडीले ढाकिएको अवस्थामा रहँदा यात्रु तथा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्।
धादिङबेसीदेखि टोड्केसम्मको करिब १५ किलोमिटर सडक फराकिलो बनाई ठाउँ ठाउँमा कालोपत्रे गरिएको छ। टोड्केदेखि चरङ्गे (भोटेपँधेरो) सम्म पनि सडक फराकिलो बनाइएको छ, तर कालोपत्रे हुन सकेको छैन। त्यसपछिको चरङ्गेदेखि लपाङफेदीसम्मको सडक भने अझै दयनीय अवस्थामा छ।
गत आर्थिक वर्षमा यस खण्डका केही स्थानमा ढलान गरिए पनि ढलानको चौडाइ पर्याप्त छैन। बाँकी करिब तीन–चार किलोमिटर सडक साँघुरो, हिलाम्मे र झाडीले ढाकिएको छ। उकालो र साँघुरो बाटोमा दुईवटा सवारीसाधन आमनेसामने हुँदा सहज रूपमा वारपार गर्नसमेत कठिन हुन्छ। कतिपय अवस्थामा मोटरसाइकलसमेत पास हुन नसक्दा सवारी चालकले लामो दूरीसम्म ब्याक गरेर साइड दिनुपर्ने बाध्यता छ।
यो सडक नेत्रावती डब्जोङ गाउँपालिका–५ (साबिक कटुञ्जे) र केही भाग त्रिपुरासुन्दरी गाउँपालिका–७ अन्तर्गत पर्दछ। स्थानीय जनप्रतिनिधिहरूका अनुसार यस सडकको केही खण्ड मध्यपहाडी लोकमार्ग तथा हुलाकी राजमार्गको क्षेत्राधिकारसँग समेत जोडिएकाले निर्माणमा अन्योल र ढिलाइ भएको छ। तल्लो भागमा डुबानको समस्या हुने विषय पनि निर्माण अघि बढ्न नसक्नुको कारणका रूपमा उठ्ने गरेको छ।
तर सडकको क्षेत्राधिकार र डुबानको बहानाले नागरिकलाई वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाइराख्नु उचित होइन। सडकको जिम्मेवारी स्पष्ट गरी सम्बन्धित निकायबीच समन्वय गरेर बाँकी खण्डको तत्काल स्तरोन्नति, फराकिलो ढलान र कालोपत्रे गर्न आवश्यक छ।
धादिङबेसीदेखि चरङ्गेसम्म सडक विस्तारको काम अघि बढिसक्दा चरङ्गेदेखि लपाङफेदीसम्मको सडक किन अझै उपेक्षामा? स्थानीयवासी र यात्रुको माग स्पष्ट छ—अब आश्वासन होइन, सुरक्षित, फराकिलो र सहज आवागमनयोग्य सडक चाहिन्छ।









तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।