धादिङ । धादिङको गजुरी गाउँपालिका–१ गलौदीस्थित रामबहादुर रोकाले सञ्चालन गरेको अल्फा कवाडी प्लाष्टिक फ्याक्ट्री (कवाडी सामान राख्ने गोदाम) मा आगलागी भएको छ ।

आगलागीको खबर राति करिब ३:०५ बजे प्राप्त भएपछि इ.प्र.का. गजुरीबाट प्रहरी निरीक्षक बलराम श्रेष्ठको कमाण्डमा १५ जना प्रहरी, श्री भैरव गण गजुरी ब्यारेकबाट ३५ जना सैनिक र सशस्त्र प्रहरी विपद् व्यवस्थापन बेस आदमघाटबाट १० जना गरी संयुक्त टोलि खटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मानवीय क्षति नभए पनि गोदामभित्रका सामग्रीमा क्षति पुगेको बताइएको छ । आगलागीको कारण भने हालसम्म नखुलेको जनाइएको छ ।
धुनिवेशी नगरपालिका, निलकण्ठ नगरपालिका र गजुरी गाउँपालिकाको तीनवटा दमकलको सहयोगमा आगो निभाउने कार्य सुरु गरिएकाे थियो । करिब ०७:०० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।






