काठमाडौँ – बी एण्ड बी अस्पतालकी स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ डा. नुतन शर्माका अनुसार महिनावारी सुकेपछि पनि महिलाले आधुनिक उपचारविधिमार्फत गर्भधारण गर्न सक्ने सम्भावना कायम रहन्छ। आइभीएफ (IVF) प्रविधिको विकाससँगै उमेर ढल्किसकेका धेरै महिलाले पनि सन्तान प्राप्त गर्न सफल भएका उदाहरण बढ्दै गइरहेको उनले बताइन्।
डा. शर्माका अनुसार ४०–५० वर्ष उमेर पुगेपछि गर्भ रहँदैन भन्ने धारणाले धेरै महिलालाई निराश बनाउने गरेको छ। तर आइभीएफ विधिबाट गर्भाधान गराएर धेरै महिला आमाबन्न सफल भएका अनुभव उनीसँग छन्।
उनका अनुसार महिनावारी पूर्णरूपमा बन्द भइसकेका महिलाहरूमा पनि चिकित्सकीय रूपमा हर्मोन परिवर्तन गराएर पुनः महिनावारी नियमित बनाइन्छ। त्यसपछि आवश्यक सबै परीक्षण र तयारी पूरा गरी आइभीएफ प्रक्रियाबाट गर्भाधान सम्भव हुन्छ।
“उमेर बढ्दै जाँदा महिलामा हर्मोन परिवर्तन, पाठेघरको अवस्था तथा स्वास्थ्यसम्बन्धी विविध चुनौती देखिन्छन्। तर अनुभवी चिकित्सक, अत्याधुनिक उपकरण र सफल उपचार विधिका कारण हामीले धेरै कठिन केसहरूमा पनि सफलताको नतिजा पाउन सकेका छौँ,” डा. शर्माले भनिन्।
उनले थपिन्, “महिनावारी सुकेको अवस्थामा पनि निराश हुनुपर्ने आवश्यकता छैन। सही समय, सही स्थान र योग्य चिकित्सकको सल्लाह लिएर आइभीएफबाट मातृत्व सम्भव हुन्छ।”






