मकाउनपूर , हेटौडा २०८३ जेठ २३
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई उत्कृष्ट जिल्ला शाखा घोषणा गर्दै सम्मान गरेको छ।
बागमती प्रदेश समितिले शाखाको संस्थागत सुदृढीकरण, पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक पत्रकारिताको प्रवर्द्धन तथा विभिन्न रचनात्मक गतिविधिहरूको मूल्याङ्कनका आधारमा धादिङ शाखालाई उत्कृष्ट जिल्ला शाखाका रूपमा सम्मान गरेको हो।
सम्मान ग्रहण गर्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी ले यस सम्मानका लागि बागमती प्रदेश समितिप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यो सम्मान धादिङ शाखाका पदाधिकारी, सदस्य तथा जिल्लाभर क्रियाशील सम्पूर्ण पत्रकारहरूको साझा उपलब्धि भएको बताउनुभयो।
अध्यक्ष अधिकारीले भन्नुभयो, “बागमती प्रदेश समितिले धादिङ शाखालाई उत्कृष्ट जिल्ला शाखाका रूपमा सम्मान गर्नु हामी सबैका लागि गौरवको विषय हो। यसले पत्रकारिताको मर्यादा, व्यावसायिकता र संस्थागत विकासका लागि अझ बढी जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ।”
उहाँले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रेस स्वतन्त्रताको संरक्षण तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघ धादिङले प्राप्त सम्मानलाई सम्पूर्ण धादिङका सञ्चारकर्मीहरूको मेहनत, एकता र समर्पणको प्रतिफलका रूपमा लिँदै बागमती प्रदेश समितिलाई धन्यवाद ज्ञापन गरेको छ।






