धादिङ । धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) ले आफ्नै पहलमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन गरेको छ। क्याम्पस प्रशासनले स्ववियु निर्वाचन नगराएपछि विद्यार्थी संगठनले बहुमत विद्यार्थीको हस्ताक्षर संकलन गरी स्ववियु गठन गरेको जनाएको छ।
अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालका अनुसार ५१ प्रतिशत विद्यार्थीको समर्थनमा स्ववियु गठन गरिएको हो। ‘सहमति गर्ने बहानामा क्याम्पस प्रशासनले निर्वाचन नगराएपछि बहुमत विद्यार्थीको हस्ताक्षरका आधारमा हामीले स्ववियु गठन गरेका हौं,’ उनले भने।
नवगठित स्ववियुमा गणेश पाण्डे सभापति चयन भएका छन् भने उपसभापतिमा सुस्मिता बरुवाल, सचिवमा गरिमा लामिछाने, सह-सचिवमा सुमन डीसी र कोषाध्यक्षमा कुशल सुवेदी चयन भएका छन्। त्यस्तै, ६ अन्य सदस्यसमेत चयन गर्दै ११ सदस्यीय स्ववियु समिति गठन गरिएको छ।
स्ववियु गठन कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष तारा भण्डारी, ५ नम्बर वडा अध्यक्ष गोविन्द लामिछाने, ६ नम्बर वडा अध्यक्ष भक्तबहादुर तामाङ, अखिल क्रान्तिकारी धादिङ जिल्ला उपाध्यक्ष सपना दाहाल, जिल्ला सचिव कवि प्रसाद दुलाल तथा आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
तर, क्रान्तिकारी संगठनले स्वतन्त्र रूपमा स्ववियु गठन गरेपछि यसको आधिकारिकताबारे अन्योल उत्पन्न भएको छ। क्याम्पस प्रमुख मुक्तिकला लामिछानेका अनुसार सहमतिको लागि कार्यदल गठन गरिएको थियो, तर कार्यदलमा पनि सहमति जुट्न सकेको छैन। यस विषयमा क्याम्पस प्रशासन र सम्बन्धित निकायबीच थप छलफल आवश्यक रहेको देखिन्छ।






