धादिङ — धादिङको गल्छीमा रहेको करदाता सेवा कार्यालय साउन १ गतेदेखि आन्तरिक राजश्व कार्यालयमा रूपान्तरण भएको छ । कार्यालय रूपान्तरणसँगै धादिङ, नुवाकोट र रसुवा जिल्लाका करदाताहरूले अब करसम्बन्धी सम्पूर्ण सेवा गल्छीमै प्राप्त गर्न सक्ने भएका छन् ।

यसअघि कलंकी र बालाजुस्थित आन्तरिक राजश्व कार्यालयबाट प्रदान गरिँदै आएको सेवा अब गल्छीबाटै उपलब्ध हुने भएको हो । कार्यालय प्रमुख लक्ष्मी खड्काका अनुसार कर तिर्ने, नविकरण गर्ने मात्र नभई करसम्बन्धी अनुसन्धान, कर छलीसम्बन्धी कारबाही र निगरानीसमेत गल्छीबाटै हुने छ ।
“अब कलंकी जानुपर्दैन, करसम्बन्धी सम्पूर्ण सेवा यही कार्यालयबाटै पाउने गरी काम सुरु गरेका छौँ,” प्रमुख खड्काले त्रिकोण खबरसँग भन्नुभयो, “कार्य विस्तारसँगै हाम्रो क्षमता पनि बढेको छ ।”
गल्छी आन्तरिक राजश्व कार्यालयले अब ठूला करदाताहरू समेत समेट्ने गरी सेवा प्रवाह गर्नेछ । कार्यालयको अनुमानअनुसार धादिङ, नुवाकोट र रसुवा जिल्लामा हाल करिब १ लाख करदाताहरू रहेका छन्, जसमा नुवाकोट र धादिङबाट मात्रै ६० हजार हाराहारीमा करदाताहरू छन् ।
कार्यालय रूपान्तरणसँगै प्रदेश नं. ३ अन्तर्गतका कर सेवाको पहुँच अझ सहज र प्रभावकारी हुने करदाताहरूले प्रतिक्रिया दिएका छन् । स्थानीयस्तरमै करसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध भएपछि सेवा लिनेहरूलाई समय, खर्च र झन्झटबाट मुक्ति मिल्ने विश्वास गरिएको छ ।