धुनिवेशी, धादिङ — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानको समावेशी र समानुपातिक संरचनाका कारण कुनै पनि पार्टीले अब सजिलै एकल बहुमत ल्याउन नसक्ने बताउनुभएको छ।

वि.सं. १९८५ मा धादिङको नौबिसेमा जन्मिनुभएका नेपाली कांग्रेस धादिङका पूर्वसभापति भरत प्रसाद उप्रेतीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्दै देउवाले पार्टीभित्र गुटको अन्त्य गर्दै एकता आवश्यक रहेको स्पष्ट पार्नुभयो।

“अहिलेको संविधान राम्रो छ, सबै जातजातिको प्रतिनिधित्व हुनेगरी बनाइएको छ,” देउवाले भन्नुभयो, “तर समावेशी प्रणालीले गर्दा एक्लै कुनै पार्टीले बहुमत ल्याउन गाह्रो हुन्छ। त्यसैले बहुमत ल्याउन पार्टीभित्र एकता अपरिहार्य छ।” उहाँले एकताको सुरुवात धादिङबाटै गर्नुपर्नेमा जोड दिनुभयो।

सभामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि गम्भीर टिप्पणी गर्दै पार्टीभित्रको गुटबन्दी प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको उल्लेख गर्नुभयो। “टिकट नपाए आफ्नै उम्मेदवारलाई हराउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,” गुरुङले भन्नुभयो, “पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुनु आवश्यक छ, प्रतिशोधले होइन।”

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु गोपालमान श्रेष्ठ, शशांक कोइराला लगायत नेताहरूले स्वर्गीय उप्रेतीको संघर्षपूर्ण जीवनको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। जिल्ला सभापति एवं कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, पूर्व सभापति रमेश धमला लगायत नेताहरूको पनि उपस्थिति रहेको थियो।

स्वर्गीय भरत प्रसाद उप्रेतीको ९७ वर्षको उमेरमा असार २८ गते काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0