धादिङ, असोज २३ ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलन पछि देशमा उत्पन्न नयाँ राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नेपाली कांग्रेस धादिङले पार्टीको विशेष महाधिवेशन आह्वानका लागि हस्ताक्षर संकलन सुरु गरेको छ।
धादिङका १० जना महाधिवेशन प्रतिनिधिहरूले संयुक्त रूपमा हस्ताक्षर गर्दै पार्टीलाई बलियो, सक्षम र समयानुकूल “नयाँ काँग्रेस” बनाउन विशेष निर्णय आवश्यक भएको निष्कर्ष निकाल्दै केन्द्रमा पत्र पठाएका हुन्।
संयुक्त रूपमा पठाइएको पत्रमा भनिएको छ, “जेनजी आन्दोलनपश्चात् उत्पन्न विशेष राष्ट्रिय राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई बलियो र नयाँ काँग्रेस बनाउनका लागि नीति, नेतृत्व र संगठन सम्बन्धी विषयमा ठोस निर्णय गर्नु अपरिहार्य भएकोले यथाशीघ्र विशेष महाधिवेशन आह्वान गरियोस्।”
नेपाली कांग्रेसको विधान २०७७ (संशोधनसहित) को धारा ७७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन बोलाउन माग गरिएको उक्त पत्रमा राकेश धमला, रमेश धमला, राजन बुर्लाकोटी, डेभिड घले, दुर्गा दाहाल, ईश्वर अधिकारी, सरिता तामाङ, शोभा छत्कुली, कल्पना अधिकारी र झंकनारायण श्रेष्ठ लगायतले हस्ताक्षर गरेका छन्।
महाधिवेशन प्रतिनिधि ईश्वर अधिकारीले जानकारी दिँदै भने, “धादिङबाट सुरु गरिएको यो पहल केन्द्रीय तहमा बलियो आवाजको रूपमा अघि बढ्नेछ। विशेष महाधिवेशनमार्फत कांग्रेसमा नीतिगत स्पष्टता, सांगठनिक सुदृढता र नयाँ नेतृत्वको दिशा तय गर्नुपर्ने आवश्यकता देखिएको छ।”
उनका अनुसार जिल्लाका अन्य महाधिवेशन प्रतिनिधिहरू र नेता–कार्यकर्तासँग समेत यस विषयमा निरन्तर परामर्श भइरहेको छ। नेपाली काँग्रेस धादिङका प्रतिनिधिहरु १० जनाले हस्ताक्षर गरिसकेका छन् ।






