धादिङ । खनियाबास–१ पेर्चोदेखि धादिङबेँसीसम्म सञ्चालन हुने संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले तोकिएको भन्दा बढी भाडा असुल्दै आएको यात्रुहरूले गुनासो गरेका छन्।
दशैं अवधिमा यात्रु चाप र सवारीसाधनको अभावका कारण अस्थायी रूपमा केही भाडा वृद्धि गरिएको भए पनि चाडपर्व सकिएको लामो समय बितिसक्दा समेत बढी शुल्क असुली जारी रहेको यात्रुहरूको आरोप छ।
यात्रुहरूको भनाइ अनुसार, उक्त रुटमा चलानीमा १ हजार रुपैयाँ लेखिए पनि चालकहरूले प्रत्यक्ष रूपमा १५ सय रुपैयाँसम्म भाडा उठाउने गरेका छन्।
रुवीभ्याली गाउँपालिका–१ लिङ्जा निवासी सुवम तामाङका अनुसार, “संयुक्त यातायातका सवारीले अझै पनि पेर्चोदेखि धादिङबेँसीसम्म मनोमानी भाडा असुल्दै आएका छन्। यसले सर्वसाधारण यात्रुहरूलाई ठुलो आर्थिक मार परेको छ,” उनले बताए।
उनका अनुसार, यस विषयमा पटक–पटक जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीमा उजुरी दिँदा पनि कुनै ठोस कारबाही भएको छैन।
स्थानीयवासीहरूले यातायात नियमन गर्ने सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तोकिएको भाडा दरअनुसार मात्र शुल्क असुलीको व्यवस्था गर्न माग गरेका छन्।






