धादिङ, २६ मंसिर २०८२ — ‘हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो पहिचान’ भन्ने नारासहित झिंगु नेवा: समाज धादिङले दोस्रो धादिङबेसी सडक नेवा: खाना महोत्सव आजदेखि सुरु गरेको छ । मंसिर २६ र २७ गते धादिङबेसीमा आयोजना हुन लागेको यो महोत्सवलाई नेवारी समुदायको सांस्कृतिक पहिचान, परम्परा र परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको हो ।
झिंगु नेवा: समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार महोत्सवले नेवारी संस्कार–संस्कृतिलाई आम समुदायमा अझ गहिरोसँग बुझ्ने अवसर प्रदान गर्नेछ । “समुदायभित्र लुकेर बसेका परम्परागत भान्सा, पहिरन र सांस्कृतिक विधिलाई संरक्षण र प्रचार–प्रसार गर्नु हाम्रो मुख्य उद्देश्य हो,” अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा दश वटा परम्परागत नेवारी परिकार स्टल रहनेछन्, जसमा क्वाटी, चतामरी, योंमरी, सुकुल खाना, च्युरा, अचार, छाेईला लगायत नेवारी खानाको स्वाद पाउन सकिनेछ ।
खानासँगै विविध जातजातिहरूको सांस्कृतिक प्रदर्शन पनि महोत्सवको मुख्य आकर्षण हुने आयोजकले जनाएका छन् । नेवारी समुदायको लाखे नाच, धिमे बाजा, नेवारी पञ्चेवाजा लगायतका प्रस्तुति रहनेछन् भने अन्य समुदायले पनि आफ्नो कला–संस्कृति प्रदर्शन गर्ने वातावरण मिलाइएको छ । यसले सांस्कृतिक विविधता र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा स्थानीय उद्योगी, व्यवसायी र युवाहरूको सक्रिय सहभागिता रहनेछ । आयोजकका अनुसार महोत्सवले धादिङबेसीको आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ । विशेषगरी खानेकुरा मन पराउने तथा सांस्कृतिक कार्यक्रम हेर्न चाहने सहभागीहरूको भीड बढ्ने अनुमान गरिएको छ ।
दुई दिनसम्म चल्ने महोत्सवले नेवारी समुदायको मौलिकता झल्काउने मात्र नभई धादिङबेसीको बजार, पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ । ‘संस्कृति जोगाएमात्रै पहिचान बच्छ’ भन्ने भावना सहित आयोजना गरिएको यस महोत्सवलाई धादिङका नागरिकहरूले उत्साहपूर्वक स्वागत गरेका छन् ।






