शनिबार, २१ कार्तिक २०८३

आज काग तिहार, यमदूतका रूपमा कागको पूजा गरिँदै

९ पटक पढिएको
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

काठमाडौँ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ। तिहारको पहिलो दिनका रूपमा मनाइने काग तिहारमा बिहानै घरआँगनमा कागका लागि मीठा खानेकुरा राखेर पूजा गर्ने परम्परा छ।

सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार यस वर्ष शनिबार पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानएकाे छ।

हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा लिइन्छ। यमराजले लोकमा भइरहेका गतिविधि र खबर कागमार्फत थाहा पाउने विश्वास रहेकाले कागलाई खुसी पार्न पूजा गरी मीठा खानेकुरा दिने चलन रहेको छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् र परिवारमा कुनै अनिष्ट नहोस् भन्ने कामनासहित कागको पूजा गरिन्छ।

नेपाली समाजमा कागलाई खबरवाहक चराका रूपमा समेत लिने गरिन्छ। घरको आँगन वा छतमा आएर काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने चलन अझै पनि गाउँघरमा प्रचलित छ। कागले केही खबर लिएर आएको हुन सक्ने लोकविश्वासका कारण पनि यस पर्वको सांस्कृतिक महत्त्व रहेको छ।

कागलाई वातावरणीय सन्तुलन कायम राख्न सहयोग गर्ने महत्त्वपूर्ण चराका रूपमा पनि लिइन्छ। यसले कुहिएका तथा सडेगलेका जैविक पदार्थ खाएर वातावरण सफा राख्न सहयोग पुर्‍याउँछ।

तिहारमा काग तिहारसँगै कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका क्रमशः मनाइन्छन्। विशेषगरी काग र कुकुरजस्ता पशुपन्छीलाई सम्मान गर्ने परम्पराले तिहारलाई प्रकृति, जीवजन्तु र मानवबीचको आत्मीय सम्बन्ध झल्काउने पर्वका रूपमा स्थापित गरेको छ।

तिहारको पहिलो दिन कागको पूजा गर्नुले शुभ समाचार, सुख, शान्ति र परिवारको कल्याणको कामना गर्ने नेपाली धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।