कृष्ण बद्री पौडेल ,धादिङ त्रिपुरेश्वर खहरे
सडक र यातायातको पहुँच नहुँदा कुनै समय पैदलयात्रीका लागि बास, भोजन र विश्रामको भरपर्दो आश्रय बनेका पाटी, पौवा र ठाँटीहरू अहिले प्रयोगविहीन हुँदै गएका छन्। समयसँगै तिनको उपयोगिता घटे पनि इतिहास र पुर्खाको सामाजिक योगदान बोकेका यस्ता सम्पदाको महत्व भने घटेको छैन। यसको उदाहरण हो, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरे बजारको पारिपट्टि अचनेटारको फेदीमा, आँखुखोलाको किनारमा रहेको ऐतिहासिक ठाँटी।
तत्कालीन गुम्दी गाविसको सालदुङ निवासी स्वर्गीय नन्दलाल सिम्खडाले वि.सं. १९४० को दशकमा स्थापना गरेको यो ठाँटी कुनै समय गोरखाबाट आरुघाट हुँदै सल्यानटार र खहरे भएर आउने पैदलयात्रीहरूको महत्वपूर्ण बिसौनी थियो। यहाँ यात्रुहरू रात बिताउँथे, खाना पकाउँथे र लामो यात्राको थकाइ मेटाउँथे।
ठाँटीमा राखिएको अभिलेखअनुसार यसको पहिलो पुनर्निर्माण वि.सं. १९८२ मा भएको थियो। दोस्रो पटक वि.सं. २०३६ मा र तेस्रो पटक वि.सं. २०८१ मा पुनर्निर्माण तथा जीर्णोद्धार गरिएको हो। स्थानीय जानकारीअनुसार २०३६ सालअघिको संरचना खरले छाइएको र काठको बढी प्रयोग गरेर बनाइएको थियो। समयसँगै संरचनाको स्वरूप फेरिए पनि यसको ऐतिहासिक अस्तित्व जोगाउने प्रयास हुँदै आएको छ।
यो ठाँटी तत्कालीन पैदलमार्गको एउटा महत्वपूर्ण आश्रयस्थल थियो। यहाँबाट आँखुखोला पार गरेपछि यात्रुहरू चरङ्गे हुँदै कटुञ्जे पुग्थे। त्यसपछि सामरी, भर्याङभुरुङ हुँदै त्रिशूली जाने पैदलमार्ग पछ्याउँथे। अहिले झोलुङ्गे पुल रहेको स्थानमा पहिले तुइनबाट खोला तर्नुपर्ने अवस्था थियो। सडक र यातायातको सुविधा नभएको समयमा यस्ता ठाँटीहरू यात्रुका लागि अत्यावश्यक सार्वजनिक संरचना थिए।
तर समय बदलियो। ग्रामीण सडक विस्तारसँगै पैदलयात्राको बाध्यता हट्दै गयो। धादिङका साविकका ५० वटै गाविसमा यातायातको पहुँच पुगेको छ। पछिल्लो समय साविकको लापा गाविसमा समेत करिब दुई वर्षअघिदेखि गाडी सञ्चालनमा आएपछि जिल्लाका सबै पुराना गाविस सडक सञ्जालसँग जोडिएका छन्।
यातायातको विकासले जनजीवन सहज बनाएको छ, तर त्यससँगै पुरानो पैदलमार्गको संस्कृति र त्यससँग जोडिएका सम्पदाहरू ओझेलमा परेका छन्। कुनै समय बटुवाले भरिने पाटी, पौवा र ठाँटीहरू अहिले सुनसान छन्। कतिपय संरचना भत्किएर नामनिशानसमेत मेटिएका छन् भने केहीले मात्र आफ्नो अस्तित्व जोगाउन सकेका छन्।
आँखुखोलाको किनारमा रहेको यो ठाँटी पनि त्यस्तै बाँकी रहेका ऐतिहासिक धरोहरमध्ये एक हो। यसको विशेष पक्ष भनेको संस्थापकका सन्ततिहरूले पुस्तौँदेखि यसको संरक्षणमा निरन्तरता दिनु हो। पुर्खाले निर्माण गरेको संरचनालाई छोरानातिहरूले पुनर्निर्माण र जीर्णोद्धार गर्दै आएको पाइन्छ। वि.सं. २०८१ मा गरिएको पछिल्लो जीर्णोद्धारले पनि पुर्खाको इतिहास जोगाउने पारिवारिक जिम्मेवारीलाई देखाउँछ।
अहिले यो ठाँटीमा पहिलेझैँ यात्रुहरू बास बस्दैनन्, खाना पकाउँदैनन् र विश्राम पनि गर्दैनन्। तर यसको अस्तित्वले विगतको पैदलयात्रा, तत्कालीन जनजीवन र सामाजिक सेवाभावको इतिहास सम्झाइरहेको छ। यो एउटा पुरानो संरचना मात्र होइन, हाम्रा पुर्खाले सार्वजनिक हितका लागि गरेको योगदानको जीवित प्रमाण हो।
यस्ता ऐतिहासिक सम्पदाको संरक्षण परिवार र समुदायको प्रयासमा मात्र सीमित हुनु हुँदैन। पुर्खाले बनाएका संरचना सन्ततिले जोगाउनु प्रशंसनीय काम हो। तर सबै ठाउँमा संस्थापकका सन्तति उपलब्ध नहुन सक्छन्। त्यसैले संघ, प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका ऐतिहासिक पाटी, पौवा, ठाँटी र चौताराहरूको पहिचान, अभिलेखीकरण तथा संरक्षणलाई प्राथमिकता दिनुपर्छ।
आधुनिक सडक र यातायात विकासका उपलब्धि हुन्। तर विकासको नाममा पुरानो इतिहास र पहिचान मेटिन दिनु हुँदैन। आज प्रयोगविहीन बनेका यस्ता सम्पदा भोलिका पुस्ताका लागि इतिहास बुझ्ने आधार बन्न सक्छन्। आँखुखोलाको किनारमा उभिएको यो ठाँटीले पनि एउटा समयको कठिन पैदलयात्रा, बटुवाको आश्रय र पुर्खाको सेवाभावको कथा सुनाइरहेको छ। यसको संरक्षण गर्नु भनेको एउटा पुरानो भवन जोगाउनु मात्र होइन, हाम्रो इतिहास र पहिचान जोगाउनु पनि हो।





तपाईंको प्रतिक्रिया
Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।