धादिङ — लोकतान्त्रिक पेशागत तथा बुद्धिजीवि सञ्जाल (डिपिन) धादिङले आफ्नो पहिलो साधारण सभा सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। सम्पन्न साधारण सभाले डा. प्रताप छत्कुलीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो।
साधारण सभाले गत वर्षको आर्थिक विवरण तथा प्रगतिबारे प्रस्तुत प्रतिवेदनलाई पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको सञ्जालले जनाएको छ।
नयाँ सल्लाहकार समितिमा डा. नत्सु शर्मा, ध्रुब चन्द्र गौतम, डा. ठाकुर सिल्वाल, डा. गोपी आर्याल र हरि सिंह केसी रहेका छन्। नेपाली काँग्रेस निकट बुद्धिजीवीहरूको समन्वयमा गठन भएको डिपिन धादिङ स्थानीय बौद्धिक नेतृत्व तथा नीति संवादका लागि सक्रिय रहेको छ।
सञ्जालका संस्थापक अध्यक्ष डा. कृष्णमान शाक्यले नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) प्रवेश गरेपछि उनलाई साधारण सदस्यता समेत खारेज गरी सञ्जालबाट पूर्णरूपमा कारबाही गरिएको सञ्जालले जनाएको छ।
साधारण सभाले नयाँ नेतृत्वमार्फत संगठन सुदृढीकरण, पेशागत समन्वय तथा स्थानीय नीति–निर्माणमा बौद्धिक योगदान बढाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ।






