काठमाडौं

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टिकट वितरण प्रक्रिया अघि बढाएको छ । तर टिकट वितरणमा अध्यक्ष ओलीको एकल निर्णय हावी भएको भन्दै पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ ।

पार्टी स्रोतका अनुसार ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका वरिष्ठ नेता ईश्वर पोखरेललाई नै टिकट नदिने निर्णय गरिएको छ । काठमाडौं–५ बाट पोखरेलको नाम जिल्ला कमिटीले एकल सिफारिस गरेको भए पनि सचिवालय बैठकले सो नाममा निर्णय गर्न सकेन । पोखरेलले चुनाव नलड्ने घोषणा गरे मात्रै अन्य नाममाथि छलफल गर्ने भन्दै जिल्ला कमिटीले केही वैकल्पिक नाम खुला राखेको थियो । स्रोतका अनुसार सो क्षेत्रबाट पार्टी सचिव राजन भट्टराई चुनाव लड्न इच्छुक देखिएका छन् ।

यस्तै, उपमहासचिव योगेश भट्टराईको हकमा पनि सचिवालय बैठकले स्पष्ट निर्णय गर्न सकेन । उनी निरन्तर चुनाव लड्दै आएको ताप्लेजुङ निर्वाचन क्षेत्रबाट उम्मेदवार को हुने भन्ने विषय खाली राखिएको छ । स्रोतका अनुसार अध्यक्ष ओली भट्टराईलाई टिकट दिन अनिच्छुक देखिएका छन् ।

पार्टीभित्र फरक समूहबाट उपाध्यक्ष पद जितेका गोकर्ण बिष्ट बाहेक अन्य नेताहरूलाई टिकट नदिइएको बताइएको छ । ईश्वर पोखरेलको प्यानलबाट सचिवका उम्मेदवार बनेका विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का र इन्द्रलाल सापकोटालगायत नेताहरू टिकटबाट वञ्चित भएका छन् ।

पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पनि यसपटक टिकट दिइएन । चितवन–१ बाट लामो समयदेखि चुनाव लड्दै आएका पाण्डेको नामसमेत उम्मेदवार सिफारिस सूचीमा समावेश गरिएको थिएन

टिकट वितरणमा अध्यक्ष ओलीको एकल प्रभाव देखिएको भन्दै पार्टीभित्र आन्तरिक असन्तोष चुलिँदै गएको छ । आगामी दिनमा यसले पार्टीको चुनावी रणनीति र एकतामा कस्तो असर पार्छ भन्ने विषय चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0