बद्री पौडेल ,धादिङ ,२०८३ असोज २ गते
धादिङ जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी (LDO) का रूपमा कार्यरत रहँदा जिल्लाको विकास निर्माणका विषयलाई प्राथमिकताका साथ उठाउने रुद्रसिंह तामाङ नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव पदमा आज बढुवा हुनुभएको छ।
धादिङमा LDO हुँदा तामाङले जिल्लाका विभिन्न विकास आयोजनासँगै ग्रामीण सडक विस्तारको विषयलाई विशेष प्राथमिकता दिनुभएको थियो। तत्कालीन जिल्ला विकास समितिमा राजनीतिक दलको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूका अनुसार उहाँले विशेषगरी उत्तरी धादिङको विकट क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नुपर्ने विषयलाई निरन्तर उठाउँदै आउनुभएको थियो।
हालको रुबी भ्याली गाउँपालिकासम्म सडक सञ्जाल पुर्याउनुपर्ने विषय उहाँको प्राथमिकतामध्ये एक रहेको तत्कालीन जिल्ला विकास समितिमा दलका तर्फबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू बताउँछन्। विकट भूगोलका कारण विकासको पहुँचबाट पछाडि परेको उत्तरी धादिङलाई सडक सञ्जालसँग जोड्न सके स्थानीयको जीवनस्तरमा प्रत्यक्ष सुधार आउने उहाँको धारणा रहेको उनीहरूको भनाइ छ।
धादिङमा रहँदा विकासका विषयमा सक्रिय भूमिका निर्वाह गर्नुभएका तामाङले प्रशासनिक सेवामा विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव पदसम्मको यात्रा तय गर्नुभएको हो। उहाँ सचिव पदमा बढुवा भएपछि धादिङमा उहाँसँग काम गरेका तथा उहाँको कार्यकाललाई नजिकबाट नियालेका व्यक्तिहरूले उहाँले विगतमा जिल्लाको विकासका लागि उठाउनुभएका विषयहरूको स्मरण गरेका छन्।
तामाङ सचिव पदमा बढुवा हुनुभएको खबरसँगै धादिङवासीले समेत उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। जिल्लाको विकासका विषयमा विगतमा उहाँले देखाएको चासो र सक्रियतालाई स्मरण गर्दै धादिङवासीले नयाँ जिम्मेवारीमा पनि सफलताको कामना गरेका हुन्।
धादिङको विकास निर्माणका सवालमा विगतमा उठाइएका कतिपय विषय अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै जिल्लावासीले तामाङको प्रशासनिक अनुभव र क्षमता आगामी दिनमा पनि देश तथा जिल्लाको हितमा उपयोग हुने विश्वास व्यक्त गरेका छन्।






