काठमाडौं ,२०८३ असोज ६ गते
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएमा आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।
मन्त्रालयअन्तर्गतको विद्यालय शिक्षा शाखाले २०८३ असोज ६ गते शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बेनी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भन्ने समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएको जनाएको छ।
शिक्षकहरूका यस्ता गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा रहेको कानुनी प्रावधानविपरीत हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकका त्यस्ता कार्यबारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन शिक्षा विकास तथा समन्वय इकाइहरूलाई निर्देशन दिएको छ।
पत्रमा त्यस्तो आचारसंहिता उल्लंघन गर्ने शिक्षकलाई शिक्षा नियमावली, २०५९ को नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न भनिएको छ।
मन्त्रालयको २०८३ असोज ६ गतेको निर्णयअनुसार विद्यालय शिक्षा शाखाका उपसचिव लिलानाथ पोखरेलले उक्त निर्देशन जारी गरेका हुन्।






