आइतवार, ६ मंसिर २०८३

धादिङबेसीको थोपल खोलामा ३ करोड ८० लाखको मल्टी सेल बक्स कल्भर्ट निर्माण सुरु

७२ पटक पढिएको
३ सेयर
WhatsApp Viber X
३ मिनेट पढाइ
अक्षर:

बद्री पौडेल , धादिङबेसी ,२०८३ कार्तिक २६ गते

उत्तरी धादिङका दर्जनौँ बस्तीलाई जिल्ला सदरमुकामसँग जोड्ने महत्वपूर्ण सडक धादिङ साङ्कोष–तिप्लिङ सडक (दामन पाख्रीन मार्ग) को शून्य किलोमिटर मानिने धादिङबेसीको पुच्छार बजारस्थित थोपल खोलामा मल्टी सेल बक्स कल्भर्ट निर्माण सुरु भएको छ।
बागमती प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय धादिङमार्फत ३ करोड ८० लाख रुपैयाँ को लागतमा उक्त संरचना निर्माण हुन लागेको हो। निर्माणको जिम्मेवारी एस एस कन्स्ट्रक्सन प्रालि, नीलकण्ठ–१२ ले पाएको छ।

निर्माण व्यवसायी जयराम भण्डारीका अनुसार तराईका विभिन्न स्थानमा प्रयोग हुँदै आएको मल्टी सेल बक्स कल्भर्ट प्रविधि पछिल्लो समय पहाडी क्षेत्रमा पनि प्रयोग गर्न थालिएको छ। यस संरचनाको जगमा ५० सेन्टिमिटर बाक्लो आरसीसी ढलान गरिनेछ भने माथिल्लो स्ल्याबमा ७० सेन्टिमिटर बाक्लो ढलान हुनेछ। प्रत्येक १० मिटरको फरकमा चारवटा पिलर उठाएर संरचना निर्माण गरिने भण्डारीले जानकारी दिएका छन्।
सामान्य ह्युमपाइप राखेर बनाइएको विद्यमान कल्भर्टभन्दा यो संरचना बढी बलियो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
थोपल खोलामा वर्षायाममा पानीको बहाव बढ्दा विद्यमान कल्भर्टमाथिबाटै खोला बग्ने गरेको छ। यस क्रममा दुई–तीन जनाले ज्यानसमेत गुमाइसकेको स्थानीयको भनाइ छ। वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोला वारपार गर्नुपर्ने बाध्यता रहेको यस स्थानमा नयाँ संरचना निर्माण सुरु भएपछि स्थानीयमा आशा पलाएको छ।

धादिङका कतिपय सडकमा सवारीसाधनको आवागमन न्यून रहेका स्थानमा समेत पुल निर्माण भइसकेको अवस्थामा हजारौँ नागरिकको दैनिक आवागमनसँग जोडिएको धादिङ साङ्कोष–तिप्लिङ सडकको सुरुवाती बिन्दुमा लामो समयसम्म सुरक्षित संरचना बन्न नसक्नु स्थानीयका लागि चिन्ताको विषय रहँदै आएको थियो।

धादिङ साङ्कोष–तिप्लिङ सडक उत्तरी धादिङका नागरिकका लागि अत्यन्तै महत्वपूर्ण सडक हो। यस मार्ग हुँदै साविकका साङ्कोष, कटुञ्जे, सेमजोङ, मार्पाक, सत्यदेवी, दार्खा, झार्लाङ, सेर्तुङ, तिप्लिङ, लापा, री, गुम्दी र फूलखर्कलगायत क्षेत्रका नागरिक आवतजावत गर्छन्। जिल्लाका दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्ने यो सडकको प्रवेशबिन्दुमै सुरक्षित पुलको अभाव रहनु विडम्बनापूर्ण अवस्था थियो।

यसै सडकअन्तर्गत धादिङबेसीदेखि करिब १५ किलोमिटर टाढा टोड्केसम्म सडक कालोपत्र गर्ने तयारी भइरहेको छ। केही स्थानमा कालोपत्र भइसकेको छ भने केही खण्डमा काम बाँकी छ। टोड्केभन्दा माथिल्लो क्षेत्र भने अझै कच्ची सडककै अवस्थामा रहेको छ।

धादिङका कतिपय सडकमा सवारीसाधनको आवागमन न्यून रहेका स्थानमा समेत पुल निर्माण भइसकेको अवस्थामा हजारौँ नागरिकको दैनिक आवागमनसँग जोडिएको धादिङ साङ्कोष–तिप्लिङ सडकको सुरुवाती बिन्दुमा लामो समयसम्म सुरक्षित संरचना बन्न नसक्नु स्थानीयका लागि चिन्ताको विषय रहँदै आएको थियो।
मिति २०८३ /०३/१६ मा सम्झौता भएको र मिति
२०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएकाले आगामी बर्खाको जोखिमलाई ध्यानमा राख्दै कामलाई तीव्रता दिनुपर्ने आवश्यकता छ। निर्माण समयमै सम्पन्न भए थोपल खोलाको बाढीका कारण हुने जोखिम कम हुनुका साथै उत्तरी धादिङका नागरिकको आवागमन थप सुरक्षित र सहज हुने विश्वास गरिएको छ। यो आयोजना केवल एउटा कल्भर्ट निर्माणको विषय मात्र होइन, उत्तरी धादिङका हजारौँ नागरिकको यात्रा, सुरक्षा र सहज आवागमनसँग जोडिएको पूर्वाधार हो। त्यसैले बजेट खर्च र संरचना निर्माणसँगै गुणस्तर र समयसीमाको पालना हुनु पनि उत्तिकै आवश्यक छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।