धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार धनबहादुर घलेले शनिबार खनियाबास गाउँपालिका वडा नम्बर २, ३ र ४ का विभिन्न बस्तीमा पुगेर मतदाता भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ ।

घरदैलो अभियानअन्तर्गत उहाँले अक्थली, दार्खा, धुनी, चौकिटोल लगायतका बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । भेटघाटका क्रममा उम्मेदवार घलेले चुनावमा हारजित जे भए पनि सधैं जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले २०७० सालमा निर्वाचित हुँदा उत्तरी धादिङमा टेलिफोन टावर भित्र्याएको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा सञ्चार समस्या कायम रहेको बताउनुभयो । अब उक्त समस्यालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने उहाँको भनाइ छ ।

यस्तै, सडक स्तरोन्नति, खानेपानीको उचित व्यवस्थापन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने उहाँले उल्लेख गर्नुभयो । खनियाबासको विकट बस्ती क्युङ गाउँमा सडक पु¥याउन आवश्यक बजेटको व्यवस्था गर्न विशेष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । स्थानीयले सडक, सञ्चार, खानेपानी र आधारभूत सेवासुविधा सुधारका विषयमा आफ्ना धारणा राखेका थिए । उम्मेदवार घलेले जनताका सुझावलाई आगामी योजनामा समेट्ने विश्वास दिलाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0