बुधबार, ९ मंसिर २०८३

बुढीगण्डकी आयोजनाको कार्यालय र पक्की पुल शिलान्यास, ६० करोड ९२ लाख लागत

८ पटक पढिएको
१ सेयर
WhatsApp Viber X
२ मिनेट पढाइ
अक्षर:

धादिङ , गोरखा २०८३ मंसिर ९ गते

लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको १२०० मेगावाट क्षमताको राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत स्थायी कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरिएको छ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बुधबार गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोकस्थित सिउरेनीटारमा आयोजित समारोहबीच दुवै संरचनाको शिलान्यास गर्नुभएको हो।

बुढीगण्डकी जलविद्युत् कम्पनीका अनुसार पुल निर्माणका लागि २३ करोड ६३ लाख र कार्यालय तथा आवास भवन निर्माणका लागि ३७ करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। दुवै संरचनामा कुल ६० करोड ९२ लाख रुपैयाँ खर्च हुनेछ।

पुल निर्माणको जिम्मा एसबीए निर्माण सेवाले र कार्यालय तथा आवास भवन निर्माणको जिम्मेवारी बिस्ट–सिन्धुली जेभीले पाएको छ। बुढीगण्डकी नदीमाथि बन्ने पुलले धादिङको बेनीघाट क्षेत्रलाई गोरखाको सिउरेनीबजार र सेलाङ सडकसँग जोड्नेछ।

शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, धादिङ र गोरखाका सांसद, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो।

आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको छ। तर कार्यालय, आवास र पुलको शिलान्यास भए पनि मुख्य जलविद्युत् संरचना निर्माण भने सुरु भइसकेको छैन। विद्युत् उत्पादन अनुमति तथा आवश्यक प्रक्रिया पूरा गर्न बाँकी छ।

लामो समयदेखि चर्चामा रहेर पनि निर्माणले गति लिन नसकेको बुढीगण्डकी आयोजना अघि बढ्ने अपेक्षा गरिरहेका धादिङ र गोरखाका बासिन्दाका लागि पछिल्लो शिलान्यासलाई महत्वपूर्ण पूर्वाधारगत प्रगतिका रूपमा हेरिएको छ। अब शिलान्यासलाई व्यवहारमै उतार्दै मुख्य आयोजना निर्माण समयमै सुरु गर्नु सरकार र आयोजनाको प्रमुख चुनौती बनेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।